अफगानिस्तान तालिबानको कब्जामा, राष्ट्रपति कार्यालय पसे तालिबानी

केही सातायता तालिवानले राजधानी काबुलबाहिरका महत्त्वपूर्ण र रणनीतिक सहर नियन्त्रणमा लिएपछि सरकार दबाबमा परेको

२०७८ श्रावण ३२ सोमबार
बिहान ०८:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, एजेन्सी । दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । 

पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुल स्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

देशका ३४ मध्ये कम्तीमा २६ वटा प्रान्त कब्जा गरेको तालिवानले राजधानी काबुल घेरेपछि गृहमन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको जनाएका थिए । 

तर, त्यसलगत्तै राष्ट्रपति असरफ घानी देश छाडेर भागे । उनी ताजिकिस्तानतर्फ उडेको जनाइएको छ । एक उच्च अधिकारीले राष्ट्रपतिले देश छाडेको पुष्टि गरे पनि थप जानकारी दिन अस्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

उच्चस्तरीय राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष तथा पूर्वराष्ट्रपति अब्दुल्लाह अब्दुल्लाहले ‘घानीले देश छाडिसकेको’ बताए । घानीले अप्ठ्यारो अवस्थामा देश छाडेको जनाउँदै अब्दुल्लाहले भने, ‘भगवान्ले उनलाई जवाफदेही बनाउनेछन् र देशले पनि उनको मूल्यांकन गर्नेछ ।’ 

उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छाडेको ठानिएको छ । गृहमन्त्री अब्दुल सत्तार मिर्जक्वालले तालिवानलाई सत्ता हस्तान्तरणको तयारी भइरहेका बेला राष्ट्रपतिले देश छाडेको जनाए । तालिवान लडाकु काबुलतर्फ अघि बढेपछि घानीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘मुलुक गम्भीर खतरामा’ परेको दाबी गरेका थिए ।

सन् २०१४ देखि अफगानिस्तानको राष्ट्रपति रहेका घानी अर्थविद् हुन् । दुई वर्षअघि चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । सन् १९८३ देखि ८ वर्ष अमेरिकाका विश्वविद्यालयमा अध्यापन गरेका उनले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न सन् २००९ मा अमेरिकी नागरिकता त्यागेका थिए । 

तालिवानले सत्ता हस्तान्तरण, संक्रमणकालीन सरकारको नेतृत्वलगायत विषयमा सरकारसँग वार्ता भइरहेकाले आफ्ना लडाकुलाई काबुलमा आक्रमण नगर्न निर्देशन दिएको छ ।

 तालिवानले एक विज्ञप्ति जारी गर्दै काबुल छाड्न चाहने कसैलाई पनि नरोकिने जनाएको छ । ‘वार्ता कुनै टुंगोमा नपुग्दासम्म काबुलको शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हुन्छ,’ तालिवान प्रवक्ता मुहम्मद सुहेल सहिनले अलजजिरासँग भनेका छन् । उनले महिलाहरूलाई सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गरेका छन् ।

मिर्जक्वालका अनुसार तालिवान विद्रोहीहरूले राजधानी काबुललाई चारैतर्फबाट घेरिरहेका छन् । कतिपय लडाकु काबुल पसिसकेका छन् । काबुल छिर्ने क्रममा तालिवानलाई सरकारी फौजले कुनै प्रतिरोध गरेका थिएनन् । 

सहिनले सर्वसाधारलाई तालिवानसँग नडराउन आग्रह गर्दै भने, ‘सरकारी फौजहरू बाहिरिएपछि हामी काबुल पस्न थालेका हौं ।’ तालिवानका अर्का प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना कतिपय लडाकु राजधानी काबुल पस्ने मुख्य नाकाहरूमा रोकिएको जनाएका छन् । ‘शान्तिपूर्ण तथा सन्तोषजनक रूपमा सत्ता हस्तान्तरण नभएसम्म हाम्रा सेना काबुलका नाकाहरूमा तयारी अवस्थामै रहिरहनेछन्,’ उनले भने । 

काबुलस्थित सांसद फर्जाना कोचाले ‘कतिपय मानिस राजधानीबाट भाग्न निकै हतारिएका र कतिपय घरभित्र लुकिरहेका’ जनाइन् । ‘उनीहरू कतै पनि जान सक्दैनन्, कुनै ठाउँ बाँकी छैनन्,’ उनले भनिन्, ‘काबुलबाट भारत वा अन्य छिमेकी मुलुक जाने उडान भरिएका छन् । अन्यत्र जान चाहने यात्रुहरू अडकिएका छन् ।’

समाचार संस्था रोयटर्सले विमानस्थलसहित काबुलको सुरक्षा अवस्था अस्तव्यस्त भएको जनाएको छ । अफगान सरकारका मन्त्री, सरकारी कर्मचारीलगायत सयौं महिला तथा बालबालिका विमानस्थलमा उडानको पर्खाइमा रहेको रोयटर्सले जनाएको छ । ‘विमानस्थल नियन्त्रणबाहिर छ,’ एक सरकारी अधिकारीले भने । काबुलबाट उड्ने व्यावसायिक उडानहरू रोकिएपछि उनीहरू थप अन्योलमा परेका छन् ।

 तालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो । 

केही सातायता तालिवानले राजधानी काबुलबाहिरका महत्त्वपूर्ण र रणनीतिक सहर नियन्त्रणमा लिएपछि सरकार दबाबमा परेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

जानकी मन्दिर मडवामा ईस्लामिक झण्डा लिएर टिकटक बनाउने युवकमाथि निवेदन, प्रहरी खोज्दै 

  • २०७८ श्रावण ३२ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरको जानकी मन्दिरस्थित विवाहमण्डप (मडवा) मा ईस्लामिक झण्डा लिएर टिकटक बनाएको भन्दै प्रशासनमा निवेदन परेको छ ।  विवाहमण्डपमा ईस्लामिक झण्डा फहराउँदै टिकटक भिडियो बनाएपछि

पूरा पढ्नुहोस्

Bureau Menus