जसपाका नेता यादवलाई कारवाही, पार्टीको केन्द्रीय सदस्यबाट हटाइयो

जसपाबाट गठबन्धन सरकारमा मन्त्री नबनाएको भन्दै सांसद यादवले विरोध गरेका थिए।

२०७८ मङ्सिर ९ बिहीबार
दिउसो १२:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक नेतालाई कारवाही गरिएको छ । जसपाले नेता प्रदीप यादवलाई कारवाही गरेको हो । 

पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएर विरोध गरेको भन्दै उनलाई पार्टीले कारवाही गरेको हो । अध्यक्ष उपेन्द्र यादवको विरोध गरेका सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको छ। 

नेता यादवलाई बुधबार पार्टीले केन्द्रीय सदस्यबाट हटाएर साधारण सदस्यमा झारिएको जसपाले जनाएको छ। उनी अध्यक्ष उपेन्द्र यादवकै विरोधमा आफ्ना कार्यकर्ता सडकमा उतारेका थिए । 

जसपाले उनलाई गत कार्तिक ११ गते नै ७ बुँदै स्पष्टिकरण सोधेको थियो । त्यसबीचमा पार्टी अध्यक्ष उपेन्द्र यादव पर्सा जाँदा उनलाई भव्य स्वागत पनि गरिएको थियो । 

उनलाई अनुशासनको कारबाही गरिएको एक नेताले बताए। “पार्टीबाट निष्काशन गर्ने तयारी थियो, तर सांसद पद जाने भएकाले साधारण सदस्यमा झारिएको हो,” ती नेताले भने।

जसपाबाट गठबन्धन सरकारमा मन्त्री नबनाएको भन्दै सांसद यादवले विरोध गरेका थिए। उनी निकट कार्यकर्ताले वीरगञ्जमा अध्यक्ष यादवको पुत्ला समेत जलाएका थिए।

कारबाहीमा परेका सांसद यादवले पार्टीले गरेको निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिए। उनले पार्टीको निर्णयलाई सम्मान गरेको बताउँदै यसमा आफ्नो कुनै गल्ती नभएको दाबी गरे । 

उनको ठाउँमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्य बनाइएको छ। सरावगीसँगै रामबाबु यादव, सूर्यनाथ यादव, विकास तिवारी र चन्देश्वर सदालाई पनि जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।

यादवलाई मन्त्री नबनाउँदा उनका समर्थकहरुले पार्टी केन्द्रीय कार्यालय बालकुमारी पुगेर उपेन्द्र यादवको पुतला जलाउनुको साथै पार्टीको हित विपरित नाराहरु लगाएको भन्दै स्पष्टिकरण सोधेको थियो । 
 

  • 4%
  • 4%
  • 4%
  • 4%
  • 4%
  • 4%

  • २०७८ मङ्सिर ९ बिहीबार

Bureau Menus

} }