१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने

बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने उनले बताए।

२०७९ जेठ २० शुक्रबार
दिउसो ३:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ।

वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्।

स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम गर्थे। उनी बागमती प्रदेशका संयोजक थिए।
चुनावका लागि उनी गत असोजदेखि गाउँमै बस्न थालेका थिए। गाउँमा बस्दा कलिला नानीहरूले भागेर विवाह गर्ने गरेको आफूले देखेको उनले बताए।

‘यहाँ ६०/७० प्रतिशत बालविवाह हुन्छ। त्यसमा पनि भागी विवाहको अवस्था भयावह छ। १४-१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ महतोले भने,‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ।’

एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जान्छ।‘यसले दिर्घकालीन समाधान दिन सक्छ। हिसाब गर्दा गाउँपालिकालाई पनि त्यति ठूलो आर्थिक भार पर्ने दखिन्न,’ अध्यक्ष महतोले भने।

बालविवाह एवं भागीविवाह नियन्त्रण गर्न र छोरीलाई धेरैभन्दा धेरै पढाउन समुदायका सबै पक्षसँग छलफल थाल्ने उनले बताए।

‘आखिर यो समस्या किन बढ्दैछ। समाधान कसरी गर्ने विषयमा विद्यार्थी, अभिभावक, समाजका अगुवा, प्रहरी, प्रशासन सबैसँग अन्तरक्रिया गर्छौं र समाधानको उपाय खोज्छौं। शिक्षाको स्तर यहाँ जर्जर छ, विद्यालयमा अनुशासन छैन त्यसले पनि समस्या बढको छ,’ महतोले थपे।यो कार्यक्रम नयाँ आर्थिक वर्षदेखि लागू हुनेछ।

अध्यक्षका हैसियतमा आफ्नो पहिलो प्राथमिकता नै गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार रहेको उनले बताए।

‘बाहिरबाट जसरी हेटौंडा, काठमाडौं, विराटनगरमा इन्ट्रान्स दिएर सरकारी स्कुल पढाउन जान्छन्, त्यसरी नै यहाँ पनि गाउँका मात्र होइन बाहिरका विद्यार्थी पढ्न आउने वातावरण बनाउँछु,’ महतोले भने, ‘१२ कक्षासम्म गाउँमै विद्यार्थीले विज्ञान पढ्न पाउनेछन्। साइन्स सम्भव नभए तत्काल एजुकेसन र म्यानेजमेन्टमै भए पनि ब्याचलर्स लेभलको पढाइ पनि गाउँबाटै सुरू गर्छु।’ अध्यक्ष महतोले आफ्नो दोस्रो प्राथमिकतामा स्वास्थ्य सेवा रहेको बताए।

‘सुविधा र राम्रो उपचार नहुँदा स्वास्थ्य संस्थामा सेवा लिन कसैले मान्दैन। अबदेखि सरकारी संस्थामा सबै उपचार पाइने अवस्था बनाउँछु,’ उनले भने, ‘जनरल फिजिसियन र सर्जन लेभेलको डाक्टर यहीँ राख्ने हाम्रो सोच छ। विशेषज्ञ सेवा सधैँ सम्भव छैन। तर ३/३ महिनामा नियमित रूपमा राख्न सकिन्छ।’

रोजगारी उनको तेस्रो प्राथमिकतामा छ। धेरै पोखरी र तरकारी खेती हुने गरेकाले यहाँ कृषिको राम्रो सम्भावना रहेको उल्लेख गर्दै महतोले त्यसै अनुसारका रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको सुनाए।

‘कृषि उद्योग यहाँ स्थापना गर्न सकिन्छ। कृषिलाई आधुनिकिरण र व्यवसायीकरण गर्नुछ। उत्पादनलाई जिल्लाभित्र मात्र नभई काठमाडौं र अन्य सहरमा पनि पुर्‍याउनु छ,’ उनले भने।

  • 9%
  • 0%
  • 3%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७९ जेठ २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus