
न्यूज ब्यूरो, जनकपुरधाम । गएराती दुई पक्षबीच विवाद हुँदा एक जना पुरुषको हत्या भएको छ । धनुषा जिल्लाको रमौलस्थित सो घटना भएको हो ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित गएराती करिब ८ः४५ बजेको समयमा स्थानीय रामअशिष यादवको ५६ बर्षिय छोरा प्रभु यादवको हत्या भएको हो ।
गएराती दुई जनाबीच भनाभन भएको तथा पुरानो रिसवीले गर्दा मौका छोपेर यादवलाई कुल्हारी प्रहार गरी मारेको आरोप परिवारजनको छ । सोही घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।
सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
गएराती सेल्समेनको काम गर्दै आएका प्रमु जनकपुरबाट भर्खरै घर आएका थिए । राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरको मृतकका कान्छो छोरा अशोक यादवले बताए ।
केही महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको छिमेकीहरु बताउँछन् ।
अशोकका अनुसार उनका बुवा प्रभुलाई बञ्चरो हानेको थियो । बन्चरो हानेपछि प्रभु जोडले चिच्याएका थिए, त्यसपछि परिवारका अन्य सदस्यहरु आगनबाट दौडेर आउँदा उनीहरुमाथि पनि आक्रमण भएको बताइएको छ ।
प्रभु यादवको घटनास्थलमै मृत्यू भएको दाबी अशोक गर्छन् । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।
- २०७९ मङ्सिर १६ शुक्रबार