बसन्तपँचमीः आज श्रद्धापूर्वक सरस्वति पूजन मनाइदै 

२०७९ माघ १२ बिहीबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । श्रीपञ्चमी पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रद्धापूर्वक मनाइँदै छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदा भन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालिएको मान्यता छ ।

संगीत, कला, साहित्य र विद्याको खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा लेख–पढ गर्न आउँछ भन्ने धार्मिक विश्वास रहेको छ । 

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ समेत गराउने परम्परा रहेको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीरेश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

 श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौँथो हात अभय मुद्रामा रहेको राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । विशेषगरी शैक्षिक संस्थाहरुमा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउने गरेका छन् ।

यता, मधेशमा आजको दिन हलो र हरुवाको पूजा अर्चना गर्ने प्रचलन रहीआए पनि आजभोली सो परम्परा हराउँदै गएको छ । यसमा खासगरी आजको हलोको पूजा गरेर खेतमा अनिवार्य रुपमा गोरुलाई जोत्ने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले सांस्कृतिक,साहित्यिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ माघ १२ बिहीबार

Bureau Menus