
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई गृहमन्त्रालयले घुस प्रकरणमा तानेको छ ।
गत साता मात्र ४६ गृह मन्त्रालयले ४६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवाको सूचि निकालेपनि सिडिओ कवारीको विदाई हुनुभन्दा अगावै आपत्त परेको छ ।
कार्यविधिमा सिडिओको कार्यसम्पादन मूल्यांकन, छविलगायत पनि हेरिने उल्लेख थियो । तर, सरुवाको सूचीमा केही यस्ता व्यक्ति पनि थिए, जसमाथि भ्रष्टाचारको गम्भीर आरोप विचाराधीन थियो । गम्भीर उजुरी रहेको खुलेपछि गृह मन्त्रालयले ती सिडिओको सरुवा नै रद्द गरेको छ ।
घटना सिराहाका सिडिओ लालबाबु कवारीको हो । उनलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो । तर, रमाना लिन नपाउँदै गृह प्रशासनले बुधबार उनको सरुवा रद्द गरिदिएको छ । उनलाई हाल काजमा गृह मन्त्रालय तानिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । हाल कार्यरत रहेकै जिल्ला सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ । सोही कारण उनको सरुवा रद्द गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए । मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो । सशस्त्र समूहले कब्जा गरेका जग्गा फिर्ता पाउन अनुरोध गर्दै जिल्ला प्रशासन पुग्दा बिचौलियामार्फत उनले घुसको बार्गेनिङ गरेको पीडितले बताएका छन् ।
करिब ६ महिनाअघि नै यसको अडियो–भिडियोसहितको उजुरी गृहमा पुगेको थियो । तर, तत्कालीन नेतृत्वले चासो नदिँदा छानबिन रोकिएको थियो । त्यसवेला गृह प्रशासनले छानबिन नै नगरी उजुरी थन्क्याएको स्रोत बताउँछ । अहिले यो कुरा पत्ता लागेपछि उनको गोरखा सरुवा रद्द गरिएको गृह स्रोतले बतायो । ‘कार्यविधिमा आचरण र अनुशासन राम्रो नभएकालाई सिडिओबाट हटाइने पनि उल्लेख छ,’ गृहका एक उच्च अधिकारीले भने, ‘उनको सरुवा कार्यविधिविपरीत हुने भएकाले तत्काललाई रद्द गरिएको हो ।’ गोरखामा नयाँ सिडिओ खटाइएको छैन ।
सिडिओ कवारीले भने आफूले सिराहामा कुनै नराम्रो काम नगरेकाले त्यस्तो घुस मागेको अडियो–भिडियोको छानबिनबारे जानकारी नभएको बताए । ‘मैले जिल्लामा त्यस्तो केही नराम्रो काम गरेको छैन, गरेको भए त छानबिन गरेर कारबाही गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘तर, मेरो मात्र सरुवा रद्द गरेर अन्याय गरिएको छ ।’
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कवारीको सरुवा रद्द भएको बताए । तर, त्यसको कारणबारे भने आफूलाई थाहा नभएको बताए । ‘उहाँको सरुवा रद्द भएको छ,’ उनी भन्छन्, ‘उहाँको प्रतिकूलता हुन सक्छ, अरू मलाई थाहा छैन ।’
त्यतो त उपसचिव कवारीको यसअघिको ‘ट्र्याक रेकर्ड’ पनि राम्रो छैन । यसअघि काठमाडौं जिल्ला प्रशासन, हज समिति, कम्पनी रजिस्ट्रार कार्यालयलगायतमा हुँदा उनी विवादित थिए ।
कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार हुँदा २० लाख घुस लिएको अभियोगमा कवारीसहित चार्टर्ड एकाउन्टेन्ट भानु कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
चितवन मेडिकल कलेजमा सेयर विवादमा सञ्चालकसँग घुस लिएको आरोपमा कवारी र कँडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेष अदालतले ठहर गरे पनि सर्वोच्चले फैसला उल्ट्याएर दुवैलाई सफाइ दिएको थियो । सिराहामा पनि उनको कार्यसम्पादन राम्रो नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
आजको नयाँ पत्रिकामा समाचार छ ।
Original link : घुस मागेको भिडियो भेटिएपछि सिडिओको सरुवा रद्द (nayapatrikadaily.com)
आम जनता पार्टीकी केन्द्रीय सदस्य पासवानमाथि जुत्ता, चप्पलसहित बियरको बोतल प्रहार
- २०७९ माघ १३ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) की केन्द्रीय सदस्य प्रिति पासवानमाथि जुत्ता चप्पल प्रहार गरिएको छ । शुक्रबार धनुषामा नाच्न आएकी पासवानमाथि दर्शकहरुले जुत्ता चप्पलसहित
पूरा पढ्नुहोस्