
न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका मेयरमाथि जनकारवाही भन्दै कालोमोसो दल्ने एक जना पक्राउ परेका छन् ।
मँगलबार (आज) दिउँसो ३ बजेको समयमा कार्यालय भित्रै रहेका नगर प्रमुख (मेयर) श्याम श्रेष्ठमाथि कालोमोसो दल्ने क्रममा एक जना पक्राउ परेका हुन् ।
मेयर श्रेष्ठका सवारी चालक र अँगरक्षकले रोक्न खोज्दा तीन जनाले हातपात गर्दै कालोमोसोको प्रयास गरेको बताइएको छ । तीनमध्ये एक जनाले हतियार देखाएर भित्र पस्न खोजेको आरोप सुरक्षागार्डको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (बहुजन) को पर्चा समेत मेयरको कार्यकक्षमा भेटिएको छ । पर्चा अनुसार सोही दलका कार्यकर्ताहरुले मेयर श्रेष्ठलाई कालोमोसोको प्रयास गरेका हुन् ।
लघुवीत मार्फत गरिब जनतालाई उठीवास गराएको, मिटरब्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख घोटाला गरेको, फर्जी कागज बनाई गोलबजार १ मा १ करोड घोटाला गरेको, अवैद्यानिक तरिकाले नदीको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकाको कर्मचारी हटाएको तथा बहुजन पार्टीका नेता कार्यकर्ताबीच सुराकी गरेको भन्दै मेयरलाई कालोमोसो गरिएको छ ।
गोलबजार नगरापलिकाभित्रै शंकास्पद वस्तु समेत भएको भन्दै सेनाको बम डिस्पोजल टोली समेत परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली सुरक्षा बढाएको हो ।
केही बेर गोलबजारमा चक्काजाम समेत गरिएको थियो भने चक्काजाम भर्खरै खोलिएको छ ।
- २०७९ चैत १४ मंगलबार