आज छठ महापर्वः अस्ताउँदो सूर्यलाई अर्घ दिँदै 

२०८० मङ्सिर ३ आइतबार
बिहान ०७:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  शुद्धता , सद् भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड ,पोखरी र तलाउमा उभि दुबै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता ,फूल हालेर खेतवारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् ।

 सन्तान प्राप्ति , निरोगिता , सुख , समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ । 

यस पर्वमा धनी ,गरिब , उचनिचको भेदभावको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । 

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने , मालीले फूल , बरईले पानको पात , कुम्हारले माटोको भाँडा , डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ । 

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि बंशवृद्धि ,केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक , ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । 

ऋगवेदमा सूर्य नै बल ,यश , चक्षुस्रोत ,आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ । 

यसै बीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गंगासागर ,धनुषसागर , रामसागर , रत्नसागर ,विहारकुण्ड , रूकमिणी सर , अरगजा ,महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड , पोखरी, तलाउमा यो पर्व गएराति देखि नै हर्षोल्लासकासाथ मनाइ रहेका छन् । 

गएराति खरना सम्पन्न भए देखि नै श्रद्धालुहरू जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइ रहेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus