न्यूज ब्यूरो, जलेश्वर । पार्टीको नगर अधिवेशन नजिकिँदै जाँदा महोत्तरीका विभिन्न पालिकामा विभाग गठनको नाममा मतदाता संख्या अस्वाभाविक रूपमा बढाइएको भन्दै विवाद उत्पन्न भएको छ। विशेषगरी एकडारा र जलेश्वर नगरपालिकामा पछिल्लो समय धमाधम विभाग गठन गरिएको भन्दै स्थानीय नेताकार्यकर्ताहरूले आपत्ति जनाएका छन्।
यसअघि लागू रहेको व्यवस्थाअनुसार वडा समितिका ११ जना सदस्यहरू मात्रै नगर अधिवेशनका मतदाता हुने व्यवस्था थियो। तर हालै जारी गरिएको एक परिपत्रमा संगठन, जलस्रोत, खेलकुद लगायत विभिन्न विभाग गठन गर्न सकिने र २०८२ साल चैत्र ३० गतेअघि गठन भएका विभागका सदस्यहरूलाई समेत नगर अधिवेशनमा मतदाता मानिने उल्लेख गरिएको छ।
यद्यपि, चैत्र ३० पछि गठन गरिएका विभागका सदस्यहरूलाई भने मतदाता अधिकार नदिने व्यवस्था गरिएको छ। यही व्यवस्थालाई आधार बनाएर पछिल्लो केही दिनयता पुरानो मिति उल्लेख गर्दै विभाग गठन कार्य तीव्र बनाइएको आरोप लागिरहेको छ।
स्थानीय नेताहरूका अनुसार एकडारा नगरपालिकामा दुई दिनअघिको मिति राखेर १६ देखि १८ वटासम्म विभाग गठन गरिएको छ। प्रत्येक विभागमा तीन–तीन जना सदस्य राखिएका छन्। उनीहरू अधिकांश वर्तमान तदर्थ नगर समिति वा क्षेत्रीय नेतृत्व निकटका व्यक्तिहरू रहेको आरोप छ।
स्रोतका अनुसार एकै रातमा एकडारा पालिकामा करिब ८५ जनाको नाम विभागीय संरचनामा थपिएको छ भने जलेश्वर नगरपालिकामा हालसम्म ३८ जना थपिइसकेका छन्। थप सदस्य समावेश गर्ने प्रक्रिया अझै जारी रहेको बताइएको छ।
यस विषयमा असन्तुष्ट पक्षले विभाग गठन प्रक्रिया पारदर्शी नभएको, कुनै औपचारिक जानकारी नदिई सीमित समूहका व्यक्तिहरूलाई मात्रै समावेश गरिएको र यसले नगर अधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाएको बताएका छन्।
उता, सम्बन्धित नेतृत्वले भने पार्टीको परिपत्रअनुसार नै विभाग गठन गरिएको र संगठन विस्तारलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने प्रतिक्रिया दिएको जनाइएको छ।
नगर अधिवेशनको पूर्वसन्ध्यामा देखिएको यो विवादले पार्टीभित्र आन्तरिक शक्ति संघर्ष र प्रतिनिधि व्यवस्थापनको विषयलाई थप चर्काएको रास्वपाकै एक नगरस्तरीय नेताले भने ।
जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा भर्ना हुन निःशुल्क छात्रबृत्ति दिँदै, आवेदन खुल्ला
- २०८३ जेठ १० आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति आवेदन खुला गरेको छ । उपहमानगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै
पूरा पढ्नुहोस्


