
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जननकपुरधामस्थित ठुलो लगानीमा ईन्टरनेश्नल लेभल (अन्तराष्ट्रिय स्तर) को क्यान्सर अस्पताल बन्ने भएको छ ।
जनकपुरधामस्थित विनयतारा क्यान्सर ट्रस्टले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी २०० शय्याको सुविधासम्पन्न क्यान्सर अस्पताल बनाउने जानकारी दिएको छ ।
करिब १ अर्ब २५ करोडको लागतमा निर्माण हुन लागेको यस अस्पतालको भवन अमेरिकाको सनफ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको फाउण्डेशनका अध्यक्ष डा. विनय साहले जानकारी दिए ।
जनकपुरधामको कदमचोक विद्यानगरस्थित सँचालनमा रहेको विनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालको सेवा, सुविधा र लागतको बारेमा सँचारकर्मीहरुलाई जानकारी गराएको हो ।
विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा निर्माण गर्न लागिएको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) आधुनिक अमेरिकी क्यान्सर अस्पतालजस्तै बनाइने फाउन्डेसनका अध्यक्ष डा. साहले बताए ।
पत्रकार सम्मेलनमा डा. साहले भने,‘पहिलो चरणमा यो अस्पताल १ लाख वर्ग फुटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौँ ।’ यो दक्षिण एसियाकै आधुनिक अस्पतालको रुपमा स्थापित हुने उनको दाबी छ ।
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको उनले बताए । जनकपुरधाममा हाल बिटिएफसिसीको २५ शय्याको अस्पताल सञ्चालनमा रहेको छ ।
‘हामी क्यान्सरको उपचारमा २१औं शताब्दीको अत्याधुनिक टेक्नोलोजी प्रयोग गर्नेछौँ,’उनले भने,‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसको साथसाथ क्यान्सर निदानको लागि उच्च कोटीको रिसर्च सेन्टरको रूपमा पनि काम गर्नेछ ।’
विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमूल परिवर्तन ल्याउनेछ ।
उनले भने,‘हामी अन्तर्राष्ट्रिय स्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदै छौं । यसलाई मधेस परिवर्तनको अभियानको रुपमा हामीले लिएका छौं । यहाँको अर्थतन्त्र मजबुत हुनेछ, मानिसहरुले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाका लागि मधेस बिरामीहरुको गन्तव्यस्थल हुनेछ ।’
‘विनयतारा फाउण्डेसन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिंगो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो,’उनले भने,‘हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौती छन्, तर बिटिसी परिवार यसलाई सम्भव र शतप्रतिशत सफल बनाउनेमा प्रतिबद्ध छौं ।’
स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गरिरहेको विनयतारा क्यान्सर ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको हो ।
बिटिएफसिसीको आफ्नो भवन निर्माण गरी यसलाई विश्वस्तरीय अस्पतालको रुपमा स्थापित गरेपछि ट्रस्टले आफ्ना अन्य योजना अगाडि बढाउने उनले जानकारी दिए ।
- २०७८ चैत २८ सोमबार