समाजिक अपराध

प्रदेश २ः यादवहरुले घर लुटेपछि मुहसरहरु गाउँ छाडेर भागे 

“जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौं”, प्रहरी निरीक्षक बस्यालले भने।

२०७८ असोज २५ सोमबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । तराई मधेशमा दशैँको धुमधाम र रौनकता छाउनुपर्ने बेला प्रदेश नम्बर २ महोत्तरीको सोनमा गाउँपालिका–७, मैनटोललाई भने सन्नाटाले घेरेको छ।

स्थानीय युवा र वयस्कहरू गाउँ छाडेर भागेकाले वृद्धवृद्धा, बच्चा र महिला मात्र भेटिन्छन् जसको अनुहार मलिन र चिन्तित देखिन्छ। मुसहर टोलका आधाभन्दा बढी गाउँ छाडेर भागेको प्रहरीले जनाएको छ।

उनीहरूको त्रासको कारण गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँमा भएको झडप हो।

त्यस रात विश्वकर्मा पूजाको अवसरमा आयोजित नाचमा झडप हुँदा वडा नम्बर २ तरहारीका ५० वर्षीय रामप्रताप यादवको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले पक्राउ गर्न सक्ने र मृतकका परिवारले आक्रमण गर्नसक्ने डरले मैनटोलमा भागाभाग मच्चिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय मलेसी सदा र नथु सदालाई पक्राउ गरेको छ। मृतकका परिवारले उनीहरूविरूद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्मा पूजाको अवसरमा आयोजित मेलामा राति करिब १२ बजेतिर तरहारीका सरोज यादवले मञ्चमा नाचिरहेकी युवतीलाई दुर्व्यवहार गर्न खोजेपछि विवाद भएको थियो। त्यही निहुँमा भोलिपल्ट सरोज आफ्ना बुवा रामप्रताप, दाइ, साथीभाइ र छरछिमेकसहित मुसहर बस्ती आइपुगे।

'उनीहरू लाठी, भराठासहित आएका थिए। हामीबाट गल्ती भएको छ भने पञ्चायत ढाकेर दण्ड(जरिवाना गर्नुस्, क्षतिपूर्ति तिराउनुस् तर मारपिट नगर्नुस् भनेर हारगुहार गरिरह्यौं। तर उनीहरूले हाम्रो कुरा नसुनेर मुसहर देख्नासाथ आक्रमण सुरू गरे,' मैनटोलका स्थानीय लतिमले भने, 'गालीगलौज गर्दै जसलाई देख्यो त्यसलाई कुटपिट गर्न थाले।'

सामूहिक रूपमा भएको हमलापछि मुसहर पनि प्रतिकारमा ओर्लिएको उनले बताए। 

“दुवैतर्फबाट ढुंगामुढा भयो। स्थानीय मलेसी र नथु सदामाथि कसैले चक्कु प्रहार गरे। दुवैको शरीर रक्ताम्य भयो”, उनले भने।

दुईतर्फी झडपकै क्रममा सरोजका बुवा रामप्रतापलाई चोट लागेको र उनी बेहोस भएर ढलेको प्रहरीको भनाइ छ। उनको उपचार क्रममा मृत्यु भएको थियो। 'पोस्टमार्टम रिपोर्टमा रामप्रतापको छातीमा एक सेन्टिमिटरको सानो घाउ र टाउकोमा पनि चोट देखिएको छ,' इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले भने ।

स्थानीयहरू भने मलेसी र नथुनीलाई रगतले लतपतिएको देखेर रामप्रताप आफैं बेहोस भएको दाबी गर्छन्।

ुदुवैतर्फ मारपिट त भइरहेकै थियो तर उहाँलाई धक्कामुक्की मात्र भएको थियो, ढुंगा लागेको थिएन। उहाँ आफैं रगत देखेर भुइँमा लड्नुभयो। त्यही बेला ढुंगामा लागेको हुनसक्छ,ु लतिमले भने।

प्रहरीका अनुसार उक्त झडपमा दुवै तर्फका दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए। उक्त घटनापछि आफूहरूमाथि फेरि आक्रमण हुन सक्ने डरले मुसहर समुदायका युवा र वयस्कहरू गाउँ छाडेर भागेको स्थानीय बताउँछन्।

“हामी सुरक्षित छैनौं। उनीहरू पछि पनि गाउँमा आएर केही घरमा आगो लगाउने प्रयास गरे,ु घटनापछि टोलमा रहेकी वृद्धा तेतरी सदाले भनिन्, ुकयौं घरमा तोडफोड गरे। अन्नपात र पैसा लुटे, बाँसको टाटी भत्काइदिए, भाँडाबर्तन फुटाइदिए। केही लत्ताकपडामा आगो लगाइदिए भने केही लिएर भागे। दर्जनभन्दा बढी हाँस र खसीबोका पनि सँगसँगै लिएर गए।”

उनले अगाडि भनिन्, “हामीलाई अब कसरी बाँच्ने भन्ने चिन्ता छ। न खानेकुरा छ न कमाउने मान्छे।”

यसबीच रामप्रतापको मृत्युको घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय गौशालाले मलेसी र नथु सदामाथि कर्त्तव्यज्यान मुद्दा चलाएको छ। मलेसीका चार र नथुका तीन छोराछोरी छन्। तीमध्ये मलेसीका १६ वर्षीया छोरी हरिकञ्चन सदा घटना भएकै दिनदेखि बेपत्ता छिन्।

ुहामीले आफन्त, नातागोता र कुटुम्बको घरमा खोजिसक्यौं तर कहीँ भेटिइनन्,ु हरिकञ्चनकी आमा कारोदेवी सदाले भनिन्।

उनका अनुसार झडप हुँदा हरिकञ्चन घरमै थिइन्। भागाभाग मच्चिएपछि सबै गाउँ छाडेर भागे। हरिकञ्चन पनि कतै भागेको हुनसक्ने उनीहरूले अनुमान गरेका थिए। अहिलेसम्म फेला नपरेपछि विभिन्न शंका उब्जेको छ।

प्रहरी निरीक्षक बस्यालले उनको खोजी भइरहेको बताए। “झडप हुँदा कसैले उनलाई समात्न खोजेको थियो। उनी त्यति बेलै भागेकी हुन्। मेरो बुझाइमा बेपत्ता होइन,” उनले भने।

सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले नहुनुपर्ने घटना भएको भन्दै यसलाई मुसहर समुदायमाथिको अत्याचारका रूपमा लिएका छन्।

“यस्तो घटना हुनु आफैंमा दुःखको कुरा हो। घटना भइसकेपछि मृतकका परिवारलाई कानुनी उपचार खोज्नुपर्थ्यो तर यहाँ उल्टै मुसहर बस्तीमा गएर तोडफोड र लुटपाट गर्ने काम भयो,” उनले भने,“मुसहर समुदायलाई कमजोर र सानो जातको ठानेर अत्याचार गरियो।”

गाउँ छाडेर भागेका केही मुसहर समुदायका व्यक्तिलाई वडा, पालिका र प्रहरीको सहकार्यमा घर फर्काइएको उनले जानकारी दिए। हरिकञ्चन बेपत्ता भएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र खोजबिन भइरहेको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ।

मुसहर समुदायले पनि आफूहरूमाथि लुटपाट र कुटपिट गरिएको र हरिकञ्चनलाई बेपत्ता पारिएको भन्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिने तयारी गरिरहेका छन्।

“जाहेरी आएपछि घटनामा संलग्न अर्को पक्षलाई पनि कारबाही गर्छौं”, प्रहरी निरीक्षक बस्यालले भने।


यो समाचार जनकपुरबाट सँचारकर्मी रोहित महतोले सेतोपाटी अनलाइनमा लेखेका छन् । समाचारको अरिजिनल लिँकः https://www.setopati.com/social/251241

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 3%
  • 97%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७८ असोज २५ सोमबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus