टर्कीमा गएको शक्तिशाली भुकम्पमा अहिलेसम्म ४८०० बढी जनाको मृत्यू, अझै धेरै बेपत्ता 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन् ।

२०७९ माघ २४ मंगलबार
दिउसो ३:४९ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी । सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुगेको छ । 

कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा १४४४ जनाको मृत्यु भएको छ । अरु कैयौँ घाइते भएका छन् भने धेरै जना बेपत्ता भएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।

यता भूकम्प पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परेकालाइै उद्धार र राहतको काम सुरु गरेका हुन् ।

सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन् ।

उनले सो भूकम्पका कारण ज्यान गुमाएका परिवारहरुलाई समवेदना व्यक्त गर्दै आफू ती परिवारका सदस्यहरुको साथमा रहेको बताएका छन् । उनले सबैभन्दा पहिला सो भूकम्पमा परी पुरिएकाहरुको उद्धारमा लाग्न संयुक्त राष्ट्रसङ्घीय उद्धार अधिकारीहरुलाई भनेका छन् ।

उनले भूकम्पको क्षतिको आँकलनका साथै त्यसमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अधिकारीहरु त्यहाँ पुगेका जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus