
न्यूज ब्यूरो, जनकपुरधाम । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (Nepobaby) ट्रेन्डले व्यापक ध्यान खिचेको छ। मनोरञ्जनका लागि नभई भ्रष्टाचारविरुद्धको अभियानका रूपमा युवा पुस्ताले सुरु गरेको यो ट्रेन्ड अहिले चर्चामा छ।
राजनीतिक तथा प्रभावशाली व्यक्तिका सन्तानलाई लक्षित गर्दै टिकटक, रेडिट लगायतका प्लेटफर्ममा उनीहरूको विलासी जीवनशैली देखाउँदै प्रश्न उठाइएका छन्। करदाताको पैसाबाट महँगो गाडी, विदेश अध्ययन र भव्य जीवन सम्भव भएको आरोप लगाइएको छ।
‘नेपो किड’ शब्द ‘नेपोटिज्म’ (नातावाद) बाट आएको हो। हलिउडदेखि बलिउडसम्म फिल्म स्टारका छोराछोरीलाई अवसर पाएको विषयमा प्रयोग हुने यो शब्द अहिले नेपालमा राजनीतिज्ञका सन्तानलाई लिएर चर्चामा आएको हो। फिलिपिन्समा केही समयअघि चलेको यस्तै अभियानबाट प्रभावित भएर नेपालमा पनि यो ट्रेन्ड सुरु भएको हो।
टिकटकमा #PoliticiansNepoBabyNepal ह्यासट्यागमार्फत नेताका छोराछोरीको महँगो जीवनशैली देखाउने भिडियोहरू भाइरल भइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “सामान्य युवाले रोजगारीकै लागि विदेश जानुपरेको छ तर नेताका सन्तान करदाताको पैसामा विलासी जीवन बाँचिरहेका छन्।”
युवाहरूले यसलाई असमानता र भ्रष्टाचारविरुद्धको आन्दोलनको प्रारम्भिक स्वरूपका रूपमा लिएका छन्। रेडिटमा गरिएको छलफलअनुसार आगामी दिनमा सडक प्रदर्शनसम्म पुग्ने चेतावनीसमेत दिइएको छ।
तर केही युवाले भने अभिभावकको गलत कार्यका कारण सन्तानलाई सजाय दिनु अनुचित हुने बताएका छन्। उनीहरूका अनुसार यसले निजी जीवनमा नकारात्मक असर पार्न सक्नेछ र साइबर बुलिङतर्फ मोडिन सक्ने जोखिम छ।
यसरी, ‘नेपो किड’ ट्रेन्डले नेपालमा मौलाएको असमानता र विशेषाधिकारप्रतिको असन्तुष्टिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक विमर्शमा ल्याएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८२ भदौ २१ शनिबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्