Alert ! वीरगँजमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा हैजाको सँक्रमण पुष्टि !

२०८२ भदौ ८ आइतबार
बिहान ०७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  वीरगञ्ज महानगरपालिकामा हैजा (कोलेरा) को महामारीले समुदाय स्तरमा गम्भीर रूप धारण गरेको छ । 

शुक्रबार वीरगञ्ज महानगर १२ को मुर्ली टोलमा तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । तर, शनिवार एक दिनमै हैजाको सङ्क्रमण अन्य वडाहरूमा पनि फैलिएको छ ।

शनिवार साँझसम्म हैजा पुष्टि हुने बिरामीको सङ्ख्या ४२ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले हैजाको महामारी समुदाय स्तरमै फैलिएको पुष्टि गरे । उनले वडा नम्बर ३, ११, १२, १३ र ३० मा हैजाका बिरामी भेटिएको जानकारी दिए । रोगको तीव्र फैलावटले स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र सरकारलाई गम्भीर चुनौती थपिएको छ ।

हैजा र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि वीरगञ्जका अस्पतालहरूमा उपचारको चाप असाधारण रूपमा बढेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार, हाल नारायणी अस्पतालमा १३ जना, तराई हस्पिटलमा १६ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी हस्पिटलमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

अस्पतालहरूमा झाडापखाला र हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या २०० नाघिसकेको सुमनचन्द्रले बताए । बिरामी थपिने क्रम नरोइएको उनले बताए ।  नारायणी अस्पतालमा बिरामीको चापले शय्या अभाव भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बिरामीलाई बरामदाको भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको बताए । शनिवार साँझसम्म नारायणी अस्पतालमा हैजा पुष्टि भएका १३ सहित ३० भन्दा बढी बिरामीको उपचार भइरहेको छ । डा. सिंहले बिरामीको सङ्ख्या अझै बढ्ने सङ्केत रहेको बताए ।

हैजाको महामारीका बिच दुई जनाको मृत्यु भएको खबरले थप चिन्ता बढाएको छ । शुक्रवार नारायणी अस्पतालमा ३५ वर्षीय एक पुरुष र वीरगञ्ज हेल्थकेयर हस्पिटलमा १९ वर्षीय एक युवतीको मृत्यु भएको डा. सिंहले बताए । दुवै बिरामी झाडापखालाबाट सिकिस्त भएपछि अस्पताल ल्याइए पनि अस्पताल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । डा. सिंहले मृत्युको कारण झाडापखाला वा हैजा हो भन्ने यकिन नभएको र थप अनुसन्धान आवश्यक रहेको बताए ।

वीरगञ्जस्थित नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंहले सरकारी तथा निजी अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको बताए। उनले करिब एक सातादेखि झाडापखालाका बिरामीहरू आउने क्रम सुरु भएको जानकारी दिए ।

यद्यपि, डा। सिंहले यो अवस्थामा डराउनु वा आत्तिनुपर्ने आवश्यकता नरहेको बताए । उनले आवश्यक सावधानी अपनाएर समयमै उपचार गरेमा हैजा पूर्ण रूपमा निको पार्न सकिने स्पष्ट पारे । साथै, उनले झाडापखालालाई सामान्य रूपमा नलिई तुरुन्त चिकित्सकसँग परामर्श गरी उपचार गराउन सुझाव दिए ।

हैजाको फैलावट रोक्न स्थानीय, प्रदेश र केन्द्र सरकारले संयुक्त रूपमा तीव्र कदम चालिरहेका छन् । वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार र सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आ–आफ्नो क्षेत्रबाट सक्रियता देखाएका छन् ।

वीरगञ्ज महानगरपालिकाले तत्कालै कडा कदम चाल्दै महानगर मातहतका सम्पूर्ण विद्यालय भदौ ८ र ९ गते दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । साथै, पानीपुरी, चाट र चटपटेजस्ता स्ट्रिट फूडको बिक्री वितरणमा पूर्ण रोक लगाइएको छ । सडकमा पाइने खाद्यपदार्थमा दूषित पानी प्रयोग हुने सम्भावनाले हैजाको जोखिम बढाउने भएकाले रोक लगाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बताए ।

मेयर राजेशमान सिंहले शनिवार बिहान वीरगञ्जका सबै अस्पतालका प्रतिनिधिहरूसँग आकस्मिक बैठक गरेर हैजा र झाडापखालाका बिरामीको उपचारमा कुनै कमी नहोस् भन्दै अस्पतालहरूलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् । उनले भने, “कुनै पनि बिरामी शय्या अभावमा उपचारबाट वञ्चित भएको सुन्न नपरोस् । यो सङ्कटको घडीमा अस्पताल र चिकित्सकहरूले मानवीयता देखाउनुपर्छ ।”

महानगरले प्रभावित क्षेत्रमा २५ टोली स्वास्थ्यकर्मी परिचालन गरेको छ । टोलीले घर–घरमा पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र बिरामीलाई उपचारका लागि अस्पताल ल्याउने काम गरिरहेका छन् । मेयर सिंहको पहलमा वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई पनि जोखिमयुक्त वडाहरूमा सचेतना अभियानमा खटाइएको छ । साथै, हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरिएको छ । सिंहले नारायणी अस्पताल पुगेर त्यहाँको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

विगत ४ बर्षदेखि जलकुम्भीले भरिएको पोखरी युवाहरुले गरे सफाई, ठेक्का लगाउने तयारी 

  • २०८२ भदौ ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित विगत ४ बर्षदेखि बेकामे बेवारिसे रहेको पोखरी युवाहरु मिलेर सफाई गरी सँचालनमा ल्याएका छन् ।  धनुषाको औरही गाउँपालिका वडा नं. १ झिटकहियास्थित रहेको सार्वजनिक पोखरी

पूरा पढ्नुहोस्

Bureau Menus