न्यूज ब्यूरो, कतार । पश्चिम एसियाका विभिन्न मुलुकहरूमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण तथा भ्रामक सामग्री प्रसारण गरेको अभियोगमा हालसम्म ११ जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना तथा ओमानमा १ जना रहेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले युद्धग्रस्त पश्चिम एसियाली राष्ट्रहरूले सामाजिक सञ्जालमा प्रसारित हुने दिग्भ्रमित पार्ने सूचना, अप्रमाणित दृश्य–श्रव्य सामग्री तथा अफवाहजन्य सन्देशहरूविरुद्ध कडा निगरानी तथा नियन्त्रणात्मक नीति अवलम्बन गरिरहेको स्पष्ट पारे। ती राष्ट्रहरूले यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध पक्राउदेखि निष्कासन (डिपोर्ट) सम्मका दण्डात्मक कारबाही लागू गरिरहेका छन्।
विशेषतः इजरायल–अमेरिका र इरानबीच जारी सैन्य तनावका सन्दर्भमा इरानद्वारा खाडी क्षेत्रतर्फ लक्षित क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भइरहेका बेला, सोसँग सम्बन्धित दृश्य सामग्री अनधिकृत रूपमा अभिलेखीकरण, प्रसारण तथा अतिरञ्जित अथवा भ्रामक व्याख्यासहित सामाजिक सञ्जालमा प्रकाशन गरिएको आरोपमा ती नेपालीहरू पक्राउ परेका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार, पक्राउ परेका व्यक्तिहरूका सम्बन्धमा सम्बन्धित देशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूले तथ्यगत विवरण संकलन तथा आवश्यक समन्वयात्मक पहल अघि बढाइरहेका छन्। साथै, उनीहरूविरुद्ध लगाइएका आरोपहरूको प्रकृति, सम्भावित जरिवाना तथा अन्य कानुनी परिणामसम्बन्धी विषयमा समेत सूक्ष्म अध्ययन तथा जानकारी सङ्कलन भइरहेको जनाइएको छ।
- २०८२ चैत २० शुक्रबार







