न्यूज ब्यूरो, झापा । कोशी प्रदेशका विभिन्न जिल्लाको सुरक्षा अवस्था तथा वस्तुस्थितिको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङ सोमबार झापा पुगेका छन्। दिनभर विभिन्न सुरक्षा निकायसँग छलफल, सीमा क्षेत्रको निरीक्षण तथा हात्ती प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका मन्त्री गुरुङले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
झापा बसाइका क्रममा मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नम्बर–२ गणका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उप–अनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा अधिकारीसँग जिल्लाको शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा चुनौतीका विषयमा छलफल गरेका थिए।
यही भ्रमणसँगै झापाका सीमावर्ती क्षेत्रमा कार्यरत जनपथ र सशस्त्र प्रहरीका केही अधिकारीमाथि गृह मन्त्रालयले विशेष निगरानी बढाएको दाबी गरिएको छ। उच्च स्रोतका अनुसार सीमा नाकाबाट हुने अवैध तस्करी तथा सुरक्षा निकायसँगको सम्भावित 'सेटिङ' सम्बन्धी सूचनाका आधारमा गृह मन्त्रालयको समन्वयमा केही प्रहरी अधिकारीहरूको मोबाइल नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान सुरु गरिएको बताइएको छ।
स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईंसहित सीमावर्ती क्षेत्रमा कार्यरत केही जनपथ तथा सशस्त्र प्रहरी अधिकृतहरूको मोबाइल नियन्त्रणमा लिइएको दाबी गरिएको छ। यद्यपि यस विषयमा गृह मन्त्रालय, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्।
यसैबीच, सीमा क्षेत्रमा हुने तस्करीमा सुरक्षा निकायका केही अधिकारी र बिचौलियाबीचको सम्भावित संलग्नताबारे समेत अनुसन्धान अघि बढाइएको दाबी विभिन्न स्रोतले गरेका छन्। तर यस्ता आरोपहरू सम्बन्धित निकायबाट पुष्टि भएका छैनन् र आधिकारिक रूपमा कसैविरुद्ध कुनै आरोपपत्र वा कारबाही सार्वजनिक गरिएको छैन।
उता, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईंले भने आफूविरुद्ध फैलाइएका मोबाइल जफत तथा अनुसन्धान सम्बन्धी सबै कुरा निराधार रहेको बताएका छन्। उनले यस्ता विषयमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका छन्।
यस घटनापछि झापाको सुरक्षा वृत्त तथा सीमावर्ती क्षेत्रमा विभिन्न अड्कलबाजी चलिरहेका छन्। यद्यपि गृह मन्त्रालय वा सुरक्षा निकायबाट औपचारिक विवरण सार्वजनिक नभएसम्म घटनाको वास्तविक अवस्था स्पष्ट हुन बाँकी रहेको छ।
धनुषाको जनकनन्दिनीमा किसान प्रोत्साहनका लागि राष्ट्रिय धान दिवस मनाइयो
- २०८३ असार २३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकामा राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय किसानहरुलाई थप प्रोत्साहित गर्न धान दिवस मनाइएको जनाइएको छ । प्रत्येक बर्ष असार १५ गते देशव्यापी
पूरा पढ्नुहोस्

