न्यूज ब्यूरो, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरमा दुई दिनदेखि हराइरहेका साढे २ वर्षका बालक सिवान तामाङ अन्ततः सकुशल फेला परेका छन् ।
घरबाट हराएको दुई रातपछि बिहीबार बिहान घनघोर जंगलको झाडीमा जीवितै भेटिएका सिवानको उद्धारसँगै परिवारमा खुसी फर्किएको छ । अबोध बालक जंगलमा हराएपछि परिवार र स्थानीयमा छाएको त्रास सुरक्षाकर्मीको निरन्तर खोजीपछि सुखद अन्त्यमा परिणत भएको हो ।
सोनी तामाङ र नारायण तामाङका छोरा सिवान आमाबुवा रोजगारीका लागि भारतमा रहेकाले विगत एक वर्षदेखि भागरस्थित मामाघरमा हजुरआमा हेमकुमारी आलेसँग बस्दै आएका थिए ।
गत मंगलबार बिहान करिब ७ बजे हजुरआमा घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । बोल्नसमेत नसक्ने सिवान हजुरआमाको पछि लाग्दै जंगल पुगेका थिए । तर, केही समयपछि उनी बाटो बिराएर घनघोर जंगलभित्र हराएका थिए ।
नाति साथमा नभएको थाहा पाएपछि हजुरआमाले स्थानीयवासीको सहयोगमा तत्काल खोजी सुरु गरिन् । बालक जंगलमा हराएको खबर फैलिएपछि स्थानीयसँगै सुरक्षाकर्मीसमेत खोजीमा जुटेका थिए ।
सशस्त्र प्रहरी बल नं. ३१ गुल्म, औद्योगिक सुरक्षा बेस प्रगतिनगर र इलाका प्रहरी कार्यालय गैँडाकोटको संयुक्त टोलीले जंगलका सम्भावित क्षेत्रमा लगातार खोजी गरेको थियो ।
दुई दिनसम्म जंगलको झाडी, खोल्सा र बाटोघाटो छान्दै खोजी जारी राखिएको थियो । अन्ततः भदौ ४ गते बिहान ९ः४० बजे घरबाट करिब १.५ किलोमिटर उत्तरतर्फ घना जंगलको झाडीमा सिवानलाई जीवितै फेला पारियो ।
दुई रातसम्म जंगलमै रहेका सिवानको गालामा सामान्य कोतारिएको बाहेक अन्य कुनै गम्भीर चोटपटक नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ ।
साढे २ वर्षको उमेर, बोल्नसमेत नसक्ने अवस्था र चारैतिर घनघोर जंगल । त्यसमाथि दुई रातसम्म भोक, प्यास र जंगली जनावरको जोखिम । यस्तो अवस्थामा पनि बालक जीवितै भेटिनु परिवारका लागि मात्रै होइन, उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयका लागि समेत अविस्मरणीय बनेको छ ।
जंगलको झाडीभित्र दुई रात जीवनसँग संघर्ष गरेका सिवानको सकुशल उद्धारलाई स्थानीयले ‘चमत्कार’कै रूपमा लिएका छन् ।
- २०८३ भदौ ४ बिहीबार


