जनकपुर कपिलेश्वरकी प्रियंका दास मृत्यु प्रकरणः ४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार !

२०८३ असोज २२ बिहीबार
बिहान ०९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरकी २० वर्षीया प्रियंका दासको शंकास्पद मृत्यु प्रकरणमा परिवार तथा आफन्तले विगतमा भएको भनिएको कुटपिट, चक्कु प्रहार र ज्यान मार्ने धम्कीलगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

गत आईतबार साँझ जनकपुरधाम १६ की प्रियँका दासको शंकास्पद मृत्यू भएको थियो । परिवारजनले निरन्तर हत्याको आरोप लगाउँदै आएकोमा ४ महिना अगाडी चक्कु प्रहारको घटना समेत भएको जनाएको छ । 

परिवारजनका अनुसार प्रियंकाको विवाह २०८१ सालमा कपिलेश्वर निवासी बिमल दाससँग भएको थियो । बिमल जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रहरीमा कार्यरत रहेको परिवारको भनाइ छ ।

परिवारले विवाह भएको एक वर्ष नबित्दै प्रियंकामाथि श्रीमान् तथा परिवारका सदस्यबाट कुटपिट हुने गरेको आरोप लगाएको छ । ४ महिनाअघि श्रीमानले चक्कु प्रहार गर्दा प्रियंका घाइते भएको आफन्त राजगीर दासले बताए । उनका अनुसार घटनाबारे जानकारी पाएपछि आफन्तले प्रियंकालाई अस्पताल पुर्‍याएर उपचार गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामा कुटपिटसम्बन्धी निवेदनसमेत दिइएको उनले बताए ।

राजगीरका अनुसार उक्त निवेदनपछि जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा दुवै पक्षबीच छलफल भएको थियो । त्यसको करिब पाँच–छ महिनापछि प्रियंकाको नाममा जग्गा खरिद गरिदिने भन्दै उनलाई माइतीबाट पुनः घर बोलाएर लगिएको परिवारको भनाइ छ । तर, घर गएको केही दिनमै उनीमाथि फेरि कुटपिट भएको आफन्तले आरोप लगाएका छन् ।

परिवारले प्रियंकाकी आमालाई पटक–पटक फोन गरेर छोरीलाई मारिदिने धम्कीसमेत दिइएको दाबी गरेको छ । प्रियंकाले आफूलाई कुटपिट गरिएको भन्दै आमा र मामालाई पठाएका भिडियोहरू आफूसँग सुरक्षित रहेको परिवारले जनाएको छ । ती भिडियो अनुसन्धानका क्रममा प्रहरीलाई उपलब्ध गराउन सकिने उनीहरूको भनाइ छ ।

आमासँग फोनमा कुरा गर्दागर्दै विवाद भएको परिवारको दाबी

प्रियंकाको मृत्यु हुनुअघिको घटनाक्रमबारे परिवारले गम्भीर प्रश्न उठाएको छ । प्रियंकाकी आमाका अनुसार आइतबार साँझ छोरीसँग फोनमा कुराकानी भइरहेको थियो । सोही क्रममा उनका श्रीमान् बिमलले मोबाइल खोसेपछि गालीगलौज र कुटपिट भएको आवाज आफूले फोनमा सुनेको आमाको भनाइ छ ।

परिवारको दाबीअनुसार त्यसक्रममा बिमलले फोनबाटै ‘तिम्रो छोरीलाई आज छोड्दिनँ, मारिदिन्छु’ भन्दै धम्की दिएका थिए । त्यसको करिब एक घण्टापछि पुनः फोन गरेर ‘तिम्रो छोरी आफैँ फाँसी लगाएर मरिन्’ भनेर जानकारी गराइएको परिवारले जनाएको छ ।

घटनाको खबर पाएपछि प्रियंकाका मामा राजगीर दाससहित आफन्त र केही साथीहरू घटनास्थल पुगेका थिए । राजगीरका अनुसार आफूहरू पुग्दा प्रियंकाको शरीरको केही भाग ओछ्यानमा र खुट्टातर्फको भाग तल रहेको अवस्थामा देखिएको थियो । त्यतिबेला प्रहरीसमेत घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।

घटनास्थलको अवस्था अभिलेख गर्न नदिइएको आफन्तको गुनासो
घटनास्थलमा पुगेपछि शवको अवस्थाको फोटो तथा भिडियो खिच्न नदिइएको भन्दै आफन्तले गुनासो गरेका छन् । राजगीर दासका अनुसार सुरुमा आफूहरूमध्ये करिब तीन–चार जनाले मात्रै शवको अवस्था प्रत्यक्ष रूपमा देखेका थिए । घटनास्थलको गेट खुला रहे पनि प्रहरीले आफन्तलाई परै बस्न आग्रह गरिरहेको उनको भनाइ छ ।

सम्भावित प्रमाण सुरक्षित राख्न र शव भेटिएको अवस्थाको विश्वसनीय अभिलेख गर्न दिन आफन्तले प्रहरीसँग आग्रह गरेका थिए । पछि सञ्चारकर्मीहरू घटनास्थल पुगेपछि फोटो तथा भिडियो खिच्न दिन आग्रह गरिएको र सुरुमा कठिनाइ भएको राजगीरले बताए ।

उनका अनुसार एक सञ्चारकर्मीले घटनास्थलको अवस्थाबारे प्रत्यक्ष प्रसारण गर्न थालेपछि गेट खोलिएको र सञ्चारकर्मीलाई दृश्य अभिलेख गर्न दिइएको थियो । घटनास्थलमा के–कस्ता प्रमाण थिए र तिनको संरक्षण कसरी गरिएको छ भन्ने विषयमा परिवारले चासो व्यक्त गरेको छ ।

डिजिटल प्रमाणदेखि पोस्टमार्टमसम्म अनुसन्धान गर्न माग
प्रियंकाको मृत्युको वास्तविक कारण पत्ता लगाउन परिवारले विगतमा भएको भनिएको कुटपिट, चक्कु प्रहार, धम्की, आमासँग भएको अन्तिम फोन वार्ता र त्यसको केही समयपछि आएको मृत्युको खबरलगायत सबै घटनाक्रमको अनुसन्धान गर्न माग गरेको छ ।

परिवारले प्रियंकाले आफन्तलाई पठाएका भनिएका भिडियो, मोबाइलको विवरण, कल रेकर्ड तथा अन्य डिजिटल प्रमाण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । यसअघि कुटपिटसम्बन्धी परेको निवेदन र महिला सेलमा भएको छलफलको विवरणलाई समेत अनुसन्धानमा समावेश गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी, घटनास्थलमा रहेका सम्भावित प्रमाण सुरक्षित राख्न, पोस्टमार्टम तथा फरेन्सिक परीक्षणलाई गम्भीरतापूर्वक अघि बढाउन र कुनै पनि दबाब वा प्रभावबिना अनुसन्धान गर्न परिवारले आग्रह गरेको छ ।

परिवार तथा आफन्तले प्रियंकाको मृत्युको घटनालाई शंकास्पद भन्दै विभिन्न प्रश्न उठाए पनि अनुसन्धानअघि कसैलाई दोषी घोषणा गर्न नहुने बताएका छन् । उनीहरूको मुख्य माग घटनाका सबै पक्षको निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण पत्ता लगाउनु र सत्यतथ्य सार्वजनिक गर्नु रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 13%
  • 25%
  • 25%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ असोज २२ बिहीबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus