न्यूज ब्यूरो, इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित हेरा नेशनल स्कुललाई बोर्डिङ विद्यालयका रूपमा दर्ता गराएर मदरसा शैलीमा पठनपाठन सञ्चालन गरेको आरोप लागेपछि इनरुवा नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।
विद्यालयको शैक्षिक गतिविधि, सञ्चालन अनुमति, पठनपाठनको स्वरूप तथा शिक्षक व्यवस्थापनलगायत विषयमा प्रश्न उठेपछि नगरपालिकाले सत्यतथ्य पत्ता लगाउन चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
इनरुवा नगरपालिकाको शिक्षा शाखाका अनुसार हेरा नेशनल स्कुल संस्थागत अर्थात् बोर्डिङ विद्यालयका रूपमा दर्ता रहेको छ । विद्यालयले गत शैक्षिक सत्रमा कक्षा ७ सम्म सञ्चालनको अनुमति लिएको र चालु शैक्षिक सत्रमा कक्षा ८ सञ्चालनका लागि अनुमति प्रक्रियामा रहेको शिक्षा शाखाले जनाएको छ ।
तर विद्यालयले अनुमति पाएको भन्दा माथिल्लो कक्षासमेत सञ्चालन गरेको तथा बोर्डिङ विद्यालयको अनुमतिमा मदरसाको स्वरूपमा पठनपाठन गराएको आरोप सार्वजनिक भएपछि नगरपालिकाले छानबिन थालेको हो ।

स्रोतका अनुसार विद्यालयले कक्षा ७ सम्म सञ्चालनको अनुमति पाएको अवस्थामा कक्षा ९ सम्म पठनपाठन गराउँदै आएको आरोप छ । यस्तै, विद्यालयले अनुमति लिँदा नेपाली शिक्षकमार्फत पठनपाठन सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भए पनि हाल भारतीय मौलवी शिक्षकमार्फत समेत अध्यापन गराउने गरिएको दाबी गरिएको छ ।
यी विषयको वास्तविकता भने नगरपालिकाको छानबिनपछि मात्रै स्पष्ट हुनेछ । शिक्षा शाखाले विद्यालय संस्थागत बोर्डिङका रूपमा दर्ता रहेकाले त्यसअनुसार प्रचलित कानुन र शैक्षिक मापदण्ड पालना गर्नुपर्ने जनाएको छ ।
यसअघि विद्यालयमा धार्मिक विषयको पठनपाठन तथा विद्यालयको सञ्चालन स्वरूपबारे समेत प्रश्न उठेको थियो । नगरपालिकाको शिक्षा शाखाले धार्मिक विषय अतिरिक्त वा सन्दर्भ सामग्रीका रूपमा पढाउन सकिने भए पनि विद्यालयले स्वीकृत संरचना र राष्ट्रिय पाठ्यक्रमअनुसार पठनपाठन गर्नुपर्ने जनाएको छ ।
चार सदस्यीय छानबिन समिति गठन
विवादबारे सत्यतथ्य पत्ता लगाउन नगरपालिकाले मनोज खड्काको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिका सदस्यमा नर्मदा खतिवडा, मुकेश पोखरेल र देवनारायण मेहता रहेका छन् ।
समितिलाई विद्यालयको वास्तविक अवस्था, विवादका कारण, देखिएका समस्या तथा समाधानका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिएका छन् । समितिको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक निर्णय लिने जनाएको छ ।
यसअघि विद्यालयले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गरेको, शिक्षकसम्बन्धी मापदण्ड पालना नगरेको तथा विद्यार्थीमाथि कुटपिटलगायतका विषयमा समेत प्रश्न उठेको थियो । नगरपालिकाले नियमविपरीत गतिविधि पुष्टि भए शिक्षा ऐन तथा नियमावलीअनुसार कारबाही गर्ने जनाएको छ ।
त्यसैले अहिलेको मुख्य प्रश्न विद्यालयले कुन तहसम्म सञ्चालन अनुमति पाएको छ, स्वीकृत संरचनाअनुसार नै पठनपाठन भइरहेको छ कि छैन र बोर्डिङ विद्यालयको अनुमतिमा मदरसासम्बन्धी गतिविधि सञ्चालन गरिएको हो कि होइन भन्नेमा केन्द्रित भएको छ ।
- २०८३ असोज २२ बिहीबार


