Close This

जानकी मन्दिरमा पटाखा र आतिशबाजीले भक्ति भन्दा मर्यादा र पवित्रतामाथि प्रहारः महन्थ दास

२०८२ कार्तिक ७ बिहीबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा यस वर्षको दीपावलीको रात श्रद्धाभावभन्दा बढी होहल्ला, धुवाँ र पटाकाको आवाजले गुञ्जिएको दृश्य देखिएको छ । धार्मिक आस्थाको केन्द्र मानिने यो पवित्र स्थलभित्र सयौँ युवाहरूले आतिशबाजी गर्दै रमिता मच्चाएको दृश्यले स्थानीय बासिन्दा, तीर्थालु तथा धार्मिक अगुवाहरूलाई स्तब्ध बनाएको छ ।

मन्दिर परिसरमा धुवाँ र बारुदको गन्धले भरिएको वातावरण, ठूलो आवाज र भीडले श्रद्धा र भक्ति झल्किनुपर्ने ठाउँमा असहजता र अशान्ति ल्याएको स्थानीयहरूले बताएका छन् । भक्तजनहरू आरती र पूजापाठमा तल्लिन रहनुपर्ने समयमा पटाकाको आवाज र आतिशबाजीले मन्दिर क्षेत्र कम्पायमान बनेको थियो ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “जानकी मन्दिर केवल ईंट र ढुंगाको संरचना मात्र होइन, यो जनकपुरवासीको आत्मा हो । यहाँ भक्ति, शान्ति र मर्यादा रहनु पर्छ, बारुद र पटाकाको आवाज होइन । मन्दिरको पवित्रता भंग गर्ने यस्तो कार्य अत्यन्त निन्दनीय र दुःखदायक छ ।”

उनका अनुसार पछिल्ला वर्षहरूमा दीपावलीको रातमा मन्दिर परिसरभित्र युवाहरूको भीड, पटाका पड्काउने, नाचगान र फोटोसेसनको प्रवृत्ति बढ्दै गएको छ । “हामीले पटक–पटक अनुरोध गरेका छौँ-मन्दिर भित्र पटाका र आतिशबाजी नगर्नुहोस् । यो हाम्रो धर्म, संस्कार र परम्पराविपरीत हो । तर, केही युवाहरू अझै पनि बेवास्ता गर्छन् । यसले सम्पूर्ण मिथिलाको छविमाथि नै दाग लगाइरहेको छ,” उनले बताए ।

महन्त दासले थपे, “जानकी मन्दिर मिथिलाको हृदय हो । यहाँ भजन, आरती र शान्तिको स्वर गुन्जिनु पर्छ, पटाका र हल्ला होइन । यो पवित्र स्थलमा मर्यादा कायम राख्नु सबैको कर्तव्य हो ।” उनका अनुसार ठूलो आवाज र आतिशबाजीले मन्दिरभित्र रहेका साधु–सन्तहरू त्रसित बनेका थिए ।

उनले मिथिलाको संस्कृति सौम्यता, भक्ति र मर्यादामा आधारित रहेको उल्लेख गर्दै भने, “हामी सबैले मिलेर जानकी मन्दिरको पवित्रता जोगाउनुपर्छ । पटाका र धुवाँले नभई दीप र भजनले नै जनकपुरधाम उज्यालो बनोस् . यही मेरो कामना हो ।”

यस घटनापछि सामाजिक सञ्जालहरूमा पनि व्यापक प्रतिक्रिया देखिएको छ । धेरैले मन्दिर परिसरमा गरिएको आतिशबाजीलाई धर्म, संस्कृति र सभ्यताविपरीत भन्दै आक्रोश पोखेका छन् । उनीहरूले प्रशासन र मन्दिर व्यवस्थापन समितिलाई यस प्रकारका गतिविधिमा नियन्त्रण गर्न माग गरेका छन् ।

जनकपुरधामको जानकी मन्दिर भक्ति, प्रेम र मर्यादाको प्रतीक स्थल हो । त्यसैले स्थानीयहरूले आग्रह गरेका छन्,“मन्दिरमा उत्सव मनाउँदा आस्था र संस्कारको सम्मान गरौँ, होहल्ला र बारुद होइन, भक्ति र प्रकाशले जनकपुर उज्यालो बनाऔँ ।”

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज रातीदेखि नागरिक एपबाटै मतदाता नामावली दर्ता गर्न सकिने

  • २०८२ कार्तिक ७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । आज राति ११:५९ बजेदेखि नागरिक एपमार्फत मतदाता नामावली दर्ताका लागि प्रि-इनरोलमेन्ट सेवा सुरु हुने भएको छ। डिजिटल माध्यमबाट मतदाता नामावली दर्ता प्रक्रियालाई अझ सहज र पहुँचयोग्य

पूरा पढ्नुहोस्

Bureau Menus