न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (बिहीबार) देखि देशभर एकैसाथ सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड ले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको बोर्डले जनाएको छ।
देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ। यस वर्ष जापानमा स्थापना गरिएको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ भने त्यसपछि क्रमशः नेपाली, गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययनका परीक्षा सञ्चालन गरिनेछ। ऐच्छिक विषयका परीक्षा चैत २५ र २६ गते तथा प्राविधिक धारका बाँकी विषयका परीक्षा चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछन्।
यस वर्ष बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्रभित्र अनावश्यक भीडका कारण परीक्षार्थीलाई असहज हुने गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केन्द्र बाहिरबाट मात्रै अनुगमन गर्ने व्यवस्था गरिएको छ।
सुरक्षातर्फ प्रत्येक परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ। प्रत्येक केन्द्रमा प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीको व्यवस्था गरिएको छ।
यस वर्षदेखि उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्था गरिएको छ। नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८२ चैत १८ बुधबार





