न्यूज ब्यूरो, जनकपुरधाम । परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको यसअघि बताए पनि उनको परिवारले झा अझै रिहा नभएको बताएको छ।
अमृत झाकी दिदी पूजाले आफ्ना भाइले सोमवार दिउँसो मात्रै आफू अझै जेलमै रहेको जानकारी गराएको बताइन्। “मेरो भाइको अहिले भर्खरै फोन आएको थियो,” उनले भनिन्।
“उसले” नेपालबाट रिहाइका लागि के भइरहेको छ ? भन्यो। “यहाँबाट त रिहा भइसक्यो भनेर कुरा आएको छ” भनेँ मैले ” उनले अमृतसँगको संवाद सुनाउँदै भनिन्।
“त्यस्तो केही पनि छैन। उतातिरबाट पहल केही पनि छैन। आज बिहान बल्ल अदालतबाट हामीले एउटा पत्र पायौँ। तिमीहरूको मुद्दा अहिले पनि अनुसन्धानको क्रममा छ। त्यस कारण अहिले हामीलाई यहीँ राख्छौँ भनेर पत्र आएको छ, भन्यो।”

परराष्ट्र मन्त्रालयका प्रवक्ताले उनको रिहाइ प्रक्रिया सुरु भइसकेको बीबीसी मिडियासँग बताएको उल्लेख छ ।
यूएईमा मुख्यालय रहेको ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीको स्वामित्वमा रहेको पानीजहाजको चालकदलका सदस्य रहेका उदयपुरको त्रियुगाका झा दुबईबाट तेल लिन इरानतिर गएका समयमा पक्राउ परेको विवरण आएका थिए।
उनीबारे विवरण सार्वजनिक भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले झा इरानमा रिहा भएको र कतारस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको बताएका थिए। अधिकारीहरूले झा केश्म टापुमा रहेको बताएका थिए।
तर दिदी पूजाका अनुसार अमृतले आफू अहिले पनि बन्दर अब्बास जेलमा रहेको जानकारी दिएका हुन्। होर्मोज्गान प्रान्तमा रहेको यो जेल इरानमा मानवाधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने हिरासत केन्द्र हो। बिबिसी
- २०८३ बैशाख ८ मंगलबार





