न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटल मा शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन्। घटनापछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।
महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरी निवासी ३६ वर्षीया रागनी देवी पासवानको उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार बैशाख १६ गते साँझ पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अवस्था सामान्य रहेको बताइए पनि शुक्रबार बिहान करिब ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ।
तर, मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै विरोध जनाएका छन्। आक्रोशित परिवारजनले अस्पतालमा तोडफोडसमेत गरेका थिए। मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मीको सल्लाहमा बैशाख ७ गते उनलाई परीक्षणका लागि अस्पताल ल्याइएको थियो र चिकित्सककै सुझावअनुसार बैशाख १६ गते भर्ना गरी शल्यक्रिया गरिएको थियो।
उनका अनुसार अस्पतालसँग १ लाख २५ हजार रुपैयाँमा ल्याप्रोस्कोपी (प्वाल पारेर गरिने) विधिबाट शल्यक्रिया गर्ने सहमति भएको थियो। तर, चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेको र त्यसकै कारण मृत्यु भएको आरोप उनले लगाए। ‘प्वाल पारेर अप्रेसन गर्ने सहमति भएको थियो, तर पेट चिरेर गरियो,’ उनले भने, ‘यसैले यस्तो घटना भयो।’ उनले दोषीमाथि कारबाही र उचित क्षतिपूर्ति माग गरेका छन्।
यता शल्यक्रियामा संलग्न सर्जन डा। अमरेश कर्ण ले भने बिरामीको अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा विधि अपनाइएको दाबी गरेका छन्। उनका अनुसार युरेटरमा १३.७ एमएमको पत्थरी देखिएपछि जोखिमलाई ध्यानमा राख्दै शल्यक्रिया गरिएको थियो। ‘शल्यक्रियापछि बिरामीको अवस्था सामान्य थियो, तर राति अचानक प्रेसर घटेपछि उपचारकै क्रममा मृत्यु भयो,’ उनले भने। उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका बताइएको छ।
यसैबीच अस्पताल र पीडित परिवारबीच सहमति जुटेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी मधुसुदन न्यौपाने को कमान्डमा खटिएको टोलीले दुवै पक्षबीच वार्ता गराएको थियो। सहमतिअनुसार अस्पतालले १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने सहमति भएपछि परिवारजनले शव बुझेका छन्।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ बैशाख १९ शनिबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्




.png)