न्यूज ब्यूरो, जनकपुरधाम । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पूर्ण बहुमत प्राप्त गरी दुई तिहाईको सरकार गठन गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार हाँकिरहेका छन् ।
चुनाव भएपछि
न्यूज ब्यूरो, जनकपुरधाम । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पूर्ण बहुमत प्राप्त गरी दुई तिहाईको सरकार गठन गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार हाँकिरहेका छन् ।
चुनाव भएपछि मन्त्री बाँडफाँडको लागि छलफल चलिरहँदा रास्वपा (घण्टी) का धनुषा जिल्ला समितिका सभापति लक्ष्मेश्वर यादवले पार्टीका केन्द्रीय प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झामाथि संगठन निर्माणमा असहयोग गरेको आरोप लगाउँदै केन्द्रीय नेतृत्वलाई विस्तृत लिखित ज्ञापनपत्र बुझाए।
रास्वपा धनुषा जिल्ला समितिको लेटरप्याडमा तयार गरिएको उक्त पत्रमा जिल्ला सभापतिले मधेश प्रदेशमा पार्टी संगठन विस्तारका क्रममा आफूले दुई वर्षदेखि निरन्तर काम गर्दै आएको उल्लेख गरेका छन्। उनले पार्टी निर्माण अभियानलाई प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला तहका पदाधिकारी, सदस्य र शुभचिन्तकहरू निरन्तर सक्रिय रहेको दाबी गरेका छन्।
.jpeg)
जिल्ला सभापति यादवले सांसद मनिष झामाथि पार्टी संगठन निर्माणमा कुनै सहयोग नगरेको आरोप लगाएउँदै सांसद झाले पार्टी गतिविधिमा सहभागिता, समन्वय तथा सहकार्य नगरेको, कार्यालय सञ्चालनमा आर्थिक सहयोग नगरेको तथा जनकपुरमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा स्थानीय नेता–कार्यकर्तालाई बेवास्ता गरेको दाबी गरेको ज्ञापन पनि केन्द्रमा पठाए ।
पत्रमा जनकपुरमा आयोजना भएका विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रममा ठूलो खर्च गरिएको तर पार्टी संगठन सञ्चालनका लागि सहयोग नगरेको आरोप समेत लगाइएको छ। साथै पार्टीका स्थानीय कार्यकर्ताको सट्टा अन्य दलका नेताहरूलाई प्राथमिकता दिएको दाबी गरिएको छ। यसले मन्त्रीमण्डल बाँडफाँडको बेला मनिष झालाई कुनै मन्त्री पदमा जानबाट रोक्न सभापति पूर्ण प्रयासमा थिए भन्ने देखिन्छ ।
जिल्ला सभापतिले सांसद झामाथि पार्टीभित्र गुट सिर्जना गरेको, सक्रिय कार्यकर्तालाई निरुत्साहित बनाएको तथा संगठन विस्तारमा नकारात्मक असर पारेको आरोप लगाएका छन्। उनले केही बैठक तथा कार्यक्रमहरूमा कार्यकर्तालाई अपमानजनक व्यवहार गरिएको, धम्की तथा गालीगलौज भएको दाबी पनि पत्रमा उल्लेख गरेका छन्।

ज्ञापनपत्रमा जनकपुरधामस्थित एक कार्यक्रममा प्रमुख अतिथि भएर पनि अन्तिम समयमा सहभागी नभएको घटनाले पार्टी प्रवेश गर्न आएका सयौं व्यक्तिहरू निराश भएर फर्किएको उल्लेख गरिएको छ। उक्त घटनाले संगठन विस्तारमा करिब नौ महिनासम्म नकारात्मक असर परेको दाबी गरिएको छ।
यसैबीच, पत्रमा समानुपातिक उम्मेदवार चयन, पार्टी प्रवेश तथा टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप समेत लगाइएको छ। सामाजिक सञ्जालमा समेत यसबारे व्यापक चर्चा भएको उल्लेख गरिएको छ।
जिल्ला सभापतिले चुनाव प्रचार–प्रसारका क्रममा जिल्ला पार्टीसँग कुनै समन्वय तथा परामर्श नगरेको, स्थानीय नेता–कार्यकर्तालाई महत्वपूर्ण जिम्मेवारी नदिएको तथा उनीहरूमाथि विश्वास नगरेको आरोप पनि लगाएका छन्। साथै चुनाव खर्चका लागि आफूलाई ५० हजार रुपैयाँ दिएको र त्यसपछि अन्य कार्यकर्तामाझ ‘सभापतिलाई पैसा दिइएको’ भन्दै चरित्र हत्या गर्न खोजिएको दाबी गरिएको छ।
पत्रमा पार्टी प्रवेश कार्यक्रममा आफू निकटका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिई अन्यलाई निषेध गरिएको आरोप समेत उल्लेख गरिएको छ। त्यस्तै संसदीय विकास कोषको रकम खर्चबारे जिल्ला तथा तल्लो तहका पार्टी निकायलाई कुनै जानकारी नगराइएको दाबी गरिएको छ।
केन्द्रीय समिति तथा विभिन्न विभागमा जिल्ला र प्रदेश समितिसँग कुनै परामर्श नगरी आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति गरिएको आरोप पनि पत्रमा समावेश छ। त्यसैगरी ‘परिवर्तनको उद्घोष सभा’ कार्यक्रममा जिल्ला तथा प्रदेश समितिसँग कुनै समन्वय नगरेको, जिम्मेवारी नदिएको, आयोजक समितिमा जिल्ला सभापतिलाई नराखिएको तथा मञ्चबाट प्रदेश र जिल्लाका नेताहरूको नाम समेत उल्लेख नगर्दा कार्यकर्ताले अपमान महसुस गरेको दाबी गरिएको छ।
पत्रको अन्त्यमा यति धेरै असहयोगका बाबजुद सम्बन्धित व्यक्तिलाई अझ ठूलो जिम्मेवारी दिइए पार्टीभित्र असन्तुष्टि र विद्रोहको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। साथै सम्बन्धित नेताको कार्यशैली ‘हैकमवादी, व्यक्तिवादी’ रहेको आरोप पनि लगाइएको छ।
.jpeg)
जिल्ला सभापतिले पार्टीको इमानदार, सक्षम र प्रतिबद्ध कार्यकर्ताको मनोबल कमजोर भएको उल्लेख गर्दै केन्द्रीय नेतृत्वलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्। उनले पार्टीभित्र देखिएको विवाद समाधान गरी संगठनलाई सुदृढ बनाउन आवश्यक पहल गर्न आग्रह गरेका छन्।
उक्त पत्र रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने, वरिष्ठ उपसभापति, उपसभापति, संगठन विभाग प्रमुख, अनुशासन आयोग प्रमुख तथा मधेश प्रदेश सभापतिलगायतलाई सम्बोधन गरिएको पाईएको छ ।
सोही ज्ञापनमा नोट दिँदै सभापति यादवद्धारा हस्ताक्षरित ज्ञापनमा मनिष झालाई कुनै पद दिए पार्टीभित्र विद्रोहको चेतावनी पनि लेखिएको पाईएको छ । लक्ष्मेश्वरलाई मधेश प्रदेशका सभापति एवम् सिरहाका साँसद ई. तपेश्वर यादवले शब्द दिएको बुझिएको छ । स्रोतका अनुसार, ई. तपेश्वर यादव आफैँ मन्त्री बन्नको लागि मनिषलाई ब्लेम गर्ने बाहेक विकल्प नदेखेको बुझिएको छ । ज्ञापनपत्रपछि मनिषलाई मन्त्री पद नदिएको बुझिएको छ । यद्यपी, तपेश्वरलाई समेत मन्त्री बन्न नदिएपछि रास्वपा (घण्टी) मा आन्तरिक विद्रोह सुरु भएको महसुस गर्न सकिन्छ ।