बर्दिवास जँगलको बस्ती हटाउने प्रयासपछि बर्दिबास तनावग्रस्त, प्रशासनको गाडी जलाइए, राजमार्ग अवरुद्ध

२०८३ जेठ १२ मंगलबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महोत्तरी ।  महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रशासनको प्रयासपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग प्रभावित हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् ।

प्रशासनले करिब ५० वर्षदेखि बसोबास गर्दै आएको भनिएको कालापानी वन क्षेत्र खाली गराउने तयारी थालेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । सोमबार साँझ बस्ती खाली गराउने विषयमा सूचना दिन पुगेका वन कर्मचारीलाई स्थानीयले राति अबेरसम्म नियन्त्रणमा राखेका थिए । त्यसपछि स्थानीयले रातिदेखि नै बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका हुन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार आगजनीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

प्रहरीले हस्तक्षेप गरी राति अवरुद्ध सडक खुलाउनुका साथै स्थानीयको नियन्त्रणमा रहेका वन कर्मचारीलाई उद्धार गरेको जनाएको छ । तर मङ्गलबार बिहानदेखि पुनः स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् ।

पूर्व वडा सदस्य तथा स्थानीय युवा नेता गणेश बस्नेतले वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउन खोजिएकाले स्थानीय आन्दोलित भएको बताए । स्थानीयवासीले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै विरोध जनाएका छन् ।

वडा अध्यक्ष विराट विष्टले बसोबासको सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताए । “सरकार र प्रशासनबाट बस्ती नउठाउने स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहन्छ,” उनले भने ।

स्थिति तनावग्रस्त बनेपछि कालापानी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको भए पनि स्थानीयको विरोधका कारण अवस्था सामान्य बन्न सकेको छैन । आन्दोलनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिम्सिनाले हाल स्थिति नियन्त्रणमै रहेको बताए । उनका अनुसार राति नियन्त्रणमा लिइएका केही प्रदर्शनकारीलाई पछि नगरप्रमुख प्रह्लाद क्षेत्रीको जिम्मामा छाडिएको हो ।

स्थानीयले माग सम्बोधन नगरी बल प्रयोग गरेर हटाउन खोजिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले वार्तामार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

आन्दोलनका कारण कालापानी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रशासन र स्थानीयबीच सहमति नजुटेसम्म अवस्था सामान्य हुने संकेत देखिएको छैन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजमा मेयर राजेशमान सिँहलाई पक्राउ पूर्जी जारी, अरुको छोरीको बुवा बनेको आरोप

  • २०८३ जेठ १२ मंगलबार

न्यूज ब्यूरो, वीरगँज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा

पूरा पढ्नुहोस्

Bureau Menus