पाँचदिने भारत भ्रमणमा आज जाँदै रास्वपा अध्यक्ष रवि लामिछाने, भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

२०८३ जेठ १८ सोमबार
बिहान ०७:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत जान लागेका हुन् ।

रास्वपाका अनुसार भ्रमण टोलीमा सभापति लामिछानेसँगै पार्टीका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी रहनेछन् ।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार लामिछानेले जुन १ देखि ५ तारिखसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा भारतको राजधानी नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ ।

भ्रमण अवधिमा लामिछानेले भाजपा नेतृत्वसँगै भारतस्थित नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको पनि भ्रमण गर्नेछन् ।

रास्वपाका अनुसार भेटघाट, छलफल तथा भ्रमण कार्यक्रमको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ ।

पार्टीले उक्त भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्यलाई सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus