Vianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक

२०८३ जेठ ३१ आइतबार
दिउसो १:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,  जनकपुरधाम । नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बजार अग्रणी वर्ल्डलिंक कम्युनिकेसन्सले शीर्ष स्थान कायम राख्न सफल भएको छ भने सुबिसु केबलनेटले भने एक वर्षमै ४५ हजारभन्दा बढी ग्राहक गुमाउँदै बजार हिस्सामा उल्लेख्य गिरावट बेहोरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार २०८२ वैशाखदेखि २०८३ वैशाखसम्मको अवधिमा देशभर फिक्स्ड ब्रोडब्यान्ड ग्राहक संख्या ३१ लाख ३२ हजार ३ सय ५० बाट बढेर ३४ लाख ८७ हजार ९ सय ७२ पुगेको छ। यस अवधिमा ३ लाख ५५ हजारभन्दा बढी नयाँ ग्राहक थपिएका छन्।

प्रतिवेदनअनुसार वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड १० लाख ७८ हजार ७ सय ९ ग्राहकसहित अझै पनि बजारको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ। अघिल्लो वर्ष कम्पनीका १० लाख ३ हजार ९ सय ४९ ग्राहक रहेका थिए। ग्राहक संख्या बढे पनि अन्य कम्पनीहरूको तीव्र विस्तारका कारण वर्ल्डलिंकको बजार हिस्सा भने ३२.०५ प्रतिशतबाट घटेर ३०.९३ प्रतिशतमा सीमित भएको छ।

दोस्रो स्थानमा रहेको Nepal Telecom का ग्राहक ३ लाख ८३ हजार १ सय १ पुगेका छन् भने तेस्रो स्थानमा रहेको Dish Media Network का ग्राहक ३ लाख ६९ हजार २ सय १८ पुगेका छन्।

यसबीच बजारमा सबैभन्दा ठूलो छलाङ भायानेट कम्युनिकेसन लिमिटेड र क्लासिक टेकले मारेका छन्। भायानेटले एक वर्षमै आफ्ना ग्राहक संख्या २ लाख ४५ हजार ९ सय ४५ बाट बढाएर ३ लाख ६३ हजार ३७ पुर्‍याउँदै सुबिसुलाई पछि पारेर चौथो स्थान कब्जा गरेको छ। कम्पनीको बजार हिस्सा ७.८५ प्रतिशतबाट बढेर १०.४१ प्रतिशत पुगेको छ।

त्यस्तै क्लासिक टेकले पनि उल्लेखनीय वृद्धि गर्दै ग्राहक संख्या १ लाख ८२ हजार ९ सय ८६ बाट २ लाख ८६ हजार ९ सय ५३ पुर्‍याएको छ। यससँगै कम्पनी छैटौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिएको छ।

यता सुबिसु केबलनेट लिमिटेड भने पछिल्लो एक वर्षमा सबैभन्दा धेरै दबाबमा परेको देखिएको छ। २०८२ वैशाखमा ३ लाख १० हजार २ सय ९४ ग्राहकसहित चौथो स्थानमा रहेको कम्पनीका ग्राहक संख्या घटेर २ लाख ६४ हजार ८ सय ४९ मा झरेको छ। एक वर्षको अवधिमा मात्रै कम्पनीले ४५ हजार ४ सय ४५ ग्राहक गुमाएको तथ्यांकले देखाएको छ।

ग्राहक संख्या घटेसँगै सुबिसुको बजार हिस्सा पनि ९.९१ प्रतिशतबाट घटेर ७.५९ प्रतिशतमा झरेको छ भने कम्पनी चौथो स्थानबाट छैटौँ स्थानमा खस्किएको छ। भायानेट र क्लासिक टेकको तीव्र विस्तार तथा बजारमा बढ्दो प्रतिस्पर्धालाई सुबिसुको पछिल्लो गिरावटको प्रमुख कारणका रूपमा हेरिएको छ।

प्राधिकरणको तथ्यांकअनुसार देशमा फिक्स्ड ब्रोडब्यान्ड सेवाको पहुँच पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। एक वर्षअघि ४६.४९ प्रतिशत रहेको पहुँचदर बढेर ५१.७९ प्रतिशत पुगेको छ। बढ्दो डिजिटल प्रयोग, फाइबर इन्टरनेटको माग तथा सेवा प्रदायकहरूबीचको मूल्य र सेवागत प्रतिस्पर्धाका कारण आगामी दिनमा इन्टरनेट बजार अझै प्रतिस्पर्धात्मक बन्ने विश्लेषण गरिएको छ।

साना तथा मध्यम स्तरका सेवा प्रदायकहरूमा वाईफाई नेपाल प्रालिले पनि उल्लेखनीय प्रगति गर्दै ग्राहक संख्या १ लाख ११ हजारभन्दा माथि पुर्‍याएको छ। यससँगै कम्पनी दशौँ स्थानबाट नवौँ स्थानमा उक्लिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झण्डै ९ बर्षपछि ट्रयाकमा फर्किदैँ कमला नपा, योजना छनौटका लागि पहिलो पटक सार्वजनिक अपिल

  • २०८३ जेठ ३१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि

पूरा पढ्नुहोस्

Bureau Menus