बायफ्रेण्डसँग मिलेर आफ्नै मँगेतर केतन अग्रवालको हत्या, भारतमा सनसनी

२०८३ असार ११ बिहीबार
बिहान ०६:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । भारतको महाराष्ट्र राज्यस्थित पुणे नजिकको प्रसिद्ध लोहागढ किल्लामा ट्रेकिङका क्रममा दुर्घटनामा मृत्यु भएको भनिएका युवा व्यवसायी केतन अग्रवालको घटनाले नाटकीय मोड लिएको छ। भारतीय प्रहरीले घटनालाई योजनाबद्ध हत्या ठहर गर्दै मृतककी मंगेतर सिया गोयल र उनका प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २६ वर्षीय केतन अग्रवाल आफ्नी मंगेतर सिया गोयलसँग जुन १८ मा लोहागढ किल्ला घुम्न गएका थिए। त्यही क्रममा उनी करिब ३०० देखि ४०० फिट गहिरो खोंचमा खसेर मृत्यु भएको बताइएको थियो। सुरुमा यसलाई दुर्घटना मानिए पनि अनुसन्धानका क्रममा घटना हत्या भएको खुलासा भएको हो।

अनुसन्धानबाट सिया गोयल र चेतन चौधरीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र केतन उनीहरूको सम्बन्ध तथा विवाह योजनाको बाधक बनेपछि हत्या गर्ने योजना बनाइएको खुलेको प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सियाको परिवारले केतनसँग विवाह तय गरिदिएपछि उनी असन्तुष्ट थिइन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केतनको हत्या एकै पटकमा नभई पटक–पटक प्रयास गरिएको थियो। मे ३१ मा पनि लोहागढ किल्लामै उनलाई धकेलेर हत्या गर्ने प्रयास गरिएको थियो। त्यतिबेला सियाले “सर्प आएको थियो, बचाउन खोजेकी हुँ” भन्दै घटनालाई सामान्य बनाएकी थिइन्। त्यसपछि पनि विभिन्न मितिमा हत्या प्रयास गरिए पनि सफल हुन नसकेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीलाई सियाको बयानमा शंका लागेपछि सीसीटीभी फुटेज, मोबाइल कल विवरण र अन्य डिजिटल प्रमाणहरूको अध्ययन गरिएको थियो। किल्ला क्षेत्रमा गर्मीयाममा समेत हुडी लगाएर घुमिरहेको एक व्यक्तिको गतिविधिले अनुसन्धानलाई नयाँ दिशा दिएको बताइएको छ। पछि उक्त व्यक्ति चेतन चौधरी रहेको खुलेको थियो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सिया र चेतनबीच हजारौँ पटक फोन सम्पर्क भएको तथा उनीहरूबीचको सम्बन्धबारे महत्वपूर्ण प्रमाण फेला परेको छ। प्रहरीले दुवै जनाविरुद्ध हत्या तथा आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

केतन अग्रवाल पुणेको एक रियल इस्टेट व्यवसायिक परिवारका सदस्य थिए। उनको विवाह आगामी नोभेम्बरमा हुने तय भएको थियो। घटनाले भारतभर व्यापक चर्चा पाएको छ भने सामाजिक सञ्जालमा समेत यसबारे तीव्र प्रतिक्रिया देखिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ असार ११ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus