न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह तथा सुशासन सुधारको माग गर्दै युवाहरूले गाउँपालिकालाई ५ बुँदे मागपत्र बुझाएका छन् ।
सरोज कुमार महतोको नेतृत्वमा युवाहरूको टोलीले गाउँपालिका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फुलकुमारी सिंहको उपस्थितिमा मागपत्र बुझाएको हो । मागपत्र बुझाउने क्रममा राजिव कुशवाहा, कमलेश सिंहलगायत युवाहरूको सहभागिता थियो ।
युवाहरूले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न माग अघि सारेका छन् । उनीहरूले गाउँपालिकामा २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्नुपर्ने, रेडबुक सार्वजनिक गर्नुपर्ने तथा सरकारी सवारीसाधनको प्रयोग र सञ्चालनमा प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी गाउँपालिकामा जडान गरिएका सीसीटीभीको मर्मत तथा आवश्यक स्थानमा विस्तार गर्नुपर्ने र नागरिकले पाउने सेवासम्बन्धी विवरण स्पष्ट हुने गरी नागरिक बडापत्र अनिवार्य राख्नुपर्ने माग गरिएको छ ।
मागपत्र बुझ्दै अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फुलकुमारी सिंहले युवाहरूले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै प्राथमिकताका साथ सम्बोधन गर्ने र मागहरू छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- २०८३ भदौ ३१ बुधबार



