न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका ४ वटा वडाध्यक्षसहित देशभरिका १० जनप्रतिनीधिको पद चौपट्ट भएको छ ।
निर्वाचन आयोगले विभिन्न स्थानीय तहबाट निर्वाचित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । सम्बन्धित राजनीतिक दलले उनीहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी गराएपछि प्रचलित कानुनअनुसार आयोगले निर्वाचित पद रिक्त भएको घोषणा गरेको हो ।
पद रिक्त हुनेमा धनुषाका चार, खोटाङका दुई, डोल्पाका दुई तथा कैलाली र मोरङका एक–एक जना जनप्रतिनिधि छन् । अधिकांश वडा अध्यक्ष छन् भने केही गाउँपालिका उपाध्यक्षको पदसमेत रिक्त भएको छ ।
धनुषामा शहीदनगर नगरपालिका–८ का वडा अध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडा अध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडा अध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका–२ का वडा अध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको आयोगको निर्णयसम्बन्धी विवरणमा उल्लेख छ ।

त्यस्तै, खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडा अध्यक्ष तुलाराम राई र बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष भुबलराज राई, कैलालीको बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष गणेशराज गिरी, डोल्पाको जिरी नगरपालिका–६ का वडा अध्यक्ष मरिचबहादुर खड्का र जिरी नगरपालिका–३ का वडा अध्यक्ष खेतराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडा अध्यक्ष गयानन्द सरदारको पद पनि रिक्त भएको जनाइएको छ ।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ मा दल त्यागसम्बन्धी व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार सम्बन्धित दलबाट दल त्याग गरेको सूचना प्राप्त भएपछि आयोगले पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो ।
यसअघि पनि दल परिवर्तन गरेका स्थानीय जनप्रतिनिधिको पद रिक्त हुने क्रम देखिएको छ । स्थानीय तहको कार्यकालको अवधि र कानुनी व्यवस्थाका कारण सबै रिक्त पदमा उपनिर्वाचन हुने अवस्था भने समान हुँदैन ।
- २०८३ भदौ ३१ बुधबार





