न्यूज ब्यूरो, जनकपुरधाम । १५ वर्षदेखि मधेशको विकास र यातायातको प्रमुख बाधक बनेको धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको थियो। तर, निर्माण कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादलगायतका समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिएपछि बाँकी निर्माण कार्यले गति लिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका छन्।
मन्त्री लम्सालका अनुसार नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भइसकेको छ। सब–स्ट्रक्चरको ढलानसमेत सकिएको छ भने पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम पूरा भएको छ।
अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको उनले बताए। नदीमा पानीको सतह घटेपछि आगामी हप्तादेखि उक्त कामसमेत अघि बढाएर सम्पन्न गर्ने तयारी छ।
धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि भरिएको माटो वर्षाको पानीले बगाएर क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ।
पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको मन्त्री लम्सालले जानकारी दिए। उनका अनुसार अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढिरहेको छ।
२०६८ सालमा पप्पु–लुम्बिनी जेभीले कमला पुल निर्माणको ठेक्का लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि निर्माण कार्य प्रभावित बनेको थियो। त्यसपछि लामो समयसम्म पुल रुग्ण आयोजनाको अवस्थामा रह्यो।
पुल निर्माणमा भएको ढिलाइले धनुषा, सिरहा तथा समग्र मधेशको आवागमन र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको भन्दै स्थानीयस्तरमा लामो समयदेखि आक्रोश व्यक्त हुँदै आएको थियो।
अब भने वर्षौँदेखि अधुरो रहेको कमला पुल सञ्चालनमा आउने आशा पलाएको छ।
कमला नदी नियन्त्रणका लागि पनि सरकारको तयारी
पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामलाई समेत अघि बढाइएको मन्त्री लम्सालले बताएका छन्।
उनका अनुसार नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ। डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन्।
आगामी हप्तासम्म प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ।
वर्षौँदेखि पुलको प्रतीक्षामा रहेका धनुषा र सिराहाका नागरिकका लागि निर्माणको अन्तिम चरणमा पुगेको यो कामले आशा जगाएको छ। अब चुनौती भनेको तोकिएको समयभित्र बाँकी काम सम्पन्न गरी पुललाई वास्तवमै सञ्चालनमा ल्याउनु हो।
४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज
- २०८३ असोज २ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका
पूरा पढ्नुहोस्




