अब तपाईको नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट, जहाँ भएपनि निकाल्न सकिने

२०८३ असोज ३ शनिबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने भएको छ । सरकारले नागरिकता नियमावली संशोधन गर्दै नागरिकलाई नागरिकताको प्रतिलिपि लिन गृहजिल्लाकै जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता नियमावली, २०६३ को पाँचौँ संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए । संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि नयाँ व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिनेछ । यसअघि नागरिकताको प्रतिलिपि सम्बन्धित जिल्लाको प्रशासन कार्यालयबाट मात्रै लिनुपर्ने व्यवस्था थियो । राष्ट्रसेवक कर्मचारी र उनीहरूका परिवारका सदस्यले भने यसअघि नै अन्तरजिल्लाबाट प्रतिलिपि लिन पाउने सुविधा पाउँदै आएका थिए ।

नयाँ व्यवस्थाअनुसार अन्तरजिल्लाबाट नागरिकताको प्रतिलिपि लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुनेछ । साथै सेवाग्राहीको बायोमेट्रिक विवरणसमेत मिलेको हुनुपर्नेछ । नागरिकताको डिजिटल अभिलेख भएका व्यक्तिले मात्रै तत्काल यो सुविधा पाउनेछन् ।

पुराना नागरिकताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट नभइसकेको अवस्थामा भने अन्तरजिल्लाबाट प्रतिलिपि लिन तत्काल समस्या हुन सक्ने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयले सर्वसाधारणलाई गृहजिल्लासम्म पुगेर नागरिकताको प्रतिलिपि लिनुपर्ने बाध्यता हटाउने उद्देश्यले नियमावली संशोधनको प्रस्ताव अघि बढाएको थियो । कानुन मन्त्रालयको सहमतिपछि प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट पारित गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीको २१ नम्बर बुँदामा पनि जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गर्ने उल्लेख थियो । मन्त्रिपरिषद्को निर्णयसँगै उक्त व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ असोज ३ शनिबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus