नेपाल रेडक्रस सोसाईटी धनुषाका पूर्व सभापति सिँहले अझै गरेनन बरबुझारथ, समान र कागजात फिर्ता गर्न सूचना

२०८३ असोज ८ बिहीबार
बिहान ०८:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले पूर्व सभापति नरेश प्रसाद सिंहलाई शाखासँग सम्बन्धित सामग्री तथा कागजात बरबुझारथ गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

शाखाले जारी गरेको सूचनाअनुसार सिंहलाई २०८३ साउन २५ गते हुलाकमार्फत रजिस्ट्री गरी बरबुझारथका लागि पत्र पठाइएको थियो । तर उक्त पत्र फिर्ता आएको र त्यसपछि पनि बरबुझारथका लागि सिंह शाखामा उपस्थित नभएको सूचनामा उल्लेख छ ।

त्यसपछि शाखाले सार्वजनिक सूचना प्रकाशित गर्दै सूचना प्रकाशन भएको मितिले सात दिनभित्र शाखामा उपस्थित भई आफू जिम्मामा रहेका आवश्यक सामग्री तथा कागजात बरबुझारथ गर्न आग्रह गरेको थियो ।

साथै, तोकिएको समयभित्र उपस्थित भई बरबुझारथ नगरे नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको थियो ।

तर आज ५ असोज २०८३ सम्म आइपुग्दा पूर्व सभापति सिंहले शाखासँग बरबुझारथ पूरा गरे वा नगरेको विषयमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

सात दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गरिएको अवस्थामा अब शाखाले त्यसपछि के कदम चाल्यो भन्ने विषय पनि चासोको बनेको छ । सिंहको जिम्मामा रहेका भनिएका सामग्री तथा कागजात संस्थालाई हस्तान्तरण भए वा नभएको विषयमा समेत शाखाबाट स्पष्ट जानकारी आउन बाँकी छ ।

रेडक्रसजस्तो सामाजिक तथा मानवीय संस्थामा नेतृत्व परिवर्तनपछि संस्थासँग सम्बन्धित कागजात, अभिलेख तथा सामग्रीको विधिवत् बरबुझारथ संस्थागत व्यवस्थापनको महत्वपूर्ण प्रक्रिया हो । जिम्मेवारी हस्तान्तरणमा ढिलाइ हुँदा संस्थाको अभिलेख तथा प्रशासनिक निरन्तरतासम्बन्धी प्रश्न उठ्न सक्ने अवस्था रहन्छ ।

शाखाले आफ्नो सार्वजनिक सूचनामा समयसीमाभित्र बरबुझारथ नभए विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट उल्लेख गरेको छ । अब शाखाले उक्त समयसीमा समाप्त भएपछि कुनै निर्णय वा कारबाही प्रक्रिया अघि बढाएको छ वा छैन भन्ने विषयमा पनि चासो बढेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus