न्यूज ब्यूरो, जनकपुरधाम । टिकटकमा सस्तो मूल्यमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेर अनलाइन सामान अर्डर गरेका धनुषाका एक व्यक्तिको बैंक खाताबाट करिब दुई लाख रुपैयाँ चोरी भएको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले महोत्तरीका २४ वर्षीय लभ चौधरी र रौतहटका २४ वर्षीय पारस चौधरीविरुद्ध ठगी कसुरमा अभियोगपत्र दायर गरेको हो । उनीहरूविरुद्ध धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा निवासी ५० वर्षीय लक्ष्मीनारायण मण्डलको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
अभियोगपत्रअनुसार मण्डलले टिकटकमा ‘नैना कलेक्सन’ नामक खाताबाट नेपालभर डेलिभरी हुने गरी १ हजार २०० रुपैयाँमा साडी र सर्ट उपलब्ध गराउने विज्ञापन देखेका थिए । विज्ञापनमा दिइएको ह्वाट्सएप नम्बरमा सम्पर्क गरेपछि आफूलाई प्रोप्राइटर बताउने व्यक्तिले सामान खरिदका लागि आधा रकम अग्रिम र बाँकी रकम सामान प्राप्त भएपछि भुक्तानी गर्नुपर्ने बताएका थिए ।
सोहीअनुसार मण्डलले सुरुमा ६०० रुपैयाँ पठाए । तर, रकम प्राप्त नभएको भन्दै पुनः ह्वाट्सएपमार्फत क्यूआर कोड पठाएर स्क्यान गर्न लगाइएको अभियोगपत्रमा उल्लेख छ ।
चार मिनेटमै दुई पटक रकम कटौती
क्यूआर कोड स्क्यान गरेपछि मण्डलको सिद्धार्थ बैंक जनकपुरधाम शाखामा रहेको खाताबाट चार मिनेटको अन्तरमा दुई पटक ठूलो रकम कटौती भएको थियो ।
प्राविधिक विवरणअनुसार बिहान ११ः४८ बजे ९९ हजार ८६२ रुपैयाँ र ११ः५२ बजे ९९ हजार ८७२ रुपैयाँ १ पैसा खाताबाट निकालिएको थियो । यसरी क्यूआर कोडमार्फत १ लाख ९९ हजार ७३४ रुपैयाँ १ पैसा र सुरुमा पठाइएको ६०० रुपैयाँसहित कुल २ लाख ३३४ रुपैयाँ खाताबाट गुमेको अभियोगपत्रमा उल्लेख छ ।
रकम काटिएको सन्देश मोबाइलमा आएपछि मण्डलले सम्पर्क गर्दा पैसा फिर्ता गरिदिने आश्वासन दिइएको थियो । तर, अर्को दिन सम्पर्क गर्न खोज्दा सम्बन्धित फोन नम्बर र ह्वाट्सएप बन्द भइसकेका थिए ।
बैंक खाताबाट इसेवासम्म रकम स्थानान्तरण
प्रहरी अनुसन्धान तथा बैंक कारोबार विवरणअनुसार मण्डलको खाताबाट अनधिकृत रूपमा निकालिएको रकम प्रतिवादी लभ चौधरीको नाममा रहेको प्रभु बैंकको खातामा स्थानान्तरण भएको पाइएको छ ।
त्यसपछि उक्त खाताबाट पारस चौधरीको इसेवा खातामा पटक–पटक गरी १ लाख ९२ हजार १७२ रुपैयाँ पठाइएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ । बाँकी रकमसमेत अन्य खातामा स्थानान्तरण गरिएको बैंक तथा भुक्तानी सेवा प्रदायकका कारोबार विवरणमा देखिएको जनाइएको छ ।
पीडितले २०८२ असोज २२ गते निवेदन दिएपछि कारोबारसम्बन्धी विवरण सङ्कलन गरिएको थियो । त्यसपछि २०८३ वैशाख ८ गते औपचारिक जाहेरी दर्ता भएको थियो । अनुसन्धानका क्रममा सिद्धार्थ बैंक, प्रभु बैंक, इसेवा, नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र गरिमा विकास बैंकलगायतका संस्थाबाट खातासम्बन्धी विवरण, कारोबार विवरण तथा प्राविधिक प्रमाण सङ्कलन गरिएको थियो ।
सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको माग
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले प्रतिवादीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगी कसुर गरेको आरोप लगाएको छ ।
उक्त कसुरमा दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था रहेको अभियोगपत्रमा उल्लेख छ ।
यसैगरी, संहिताको दफा २५४ बमोजिम ठगी भएको रकम पीडितलाई फिर्ता भराउनसमेत माग गरिएको छ । दुवै प्रतिवादी फरार रहेको जनाउँदै उनीहरूका नाममा कानुनबमोजिम म्याद जारी गरी मुद्दाको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ ।
जिममा महिलाका आपत्तिजनक भिडियो बनाएको आरोप, सञ्चालक पक्राउ, १००–१५० तस्बिर–भिडियो बरामद
- २०८३ असोज २३ शुक्रबार
भारत । भारतको गुजरातस्थित सुरेन्द्रनगरमा जिममा आउने महिलाको गोप्य रूपमा आपत्तिजनक तस्बिर तथा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा जिमका व्यवस्थापक अमिन यासिनभाई मुलतानी पक्राउ परेका छन् । सुरेन्द्रनगरको ‘क्लब ७१’ जिममा
पूरा पढ्नुहोस्


