अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी 

२०८२ असोज ९ बिहीबार
रति ८:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहा गोलबजार–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको हत्या आफ्नै दियाद पर्ने काकाले सम्पतिको लागि गरेको आशंका गरिएको छ । 

प्रहरीले यो हत्यालाई योजनाबद्ध अपराध हुनसक्ने संकेत प्रहरीले पाएको छ । परिवारको एक्लो छोरा र करिब चार बिघा पुर्ख्यौली जमिनका उत्तराधिकारी भएकाले सम्पत्ति कब्जा गर्ने उद्देश्यले आफन्त नै संलग्न भएको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटाइएको छ ।

गत ५ असोजदेखि बेपत्ता रहेका अभिषेक यही ७ असोज बिहान घरनजिकैको आँपबगैँचामा मृत अवस्थामा भेटिएपछि गाउँ शोक र सनसनीमा डुब्यो । उनका पिता करिब १० वर्षअघि दुर्घटनामा ज्यान गुमाइसकेका थिए, आमा रेखादेवीसँगै उनी खेतीपाती गर्थे ।

नाताले काका पर्ने १७ वर्षीय पंकज सिंहलाई प्रहरीले मुख्य आरोपीका रूपमा नियन्त्रणमा लिएको छ । प्रारम्भिक बयानअनुसार उनले अभिषेकलाई खेल्न जाऔँ भन्दै खेततर्फ लगेर गम्छाले हात बाँधेर घाँटी थिचेर हत्या गरेपछि शव तयार राखिएको प्लास्टिकको ड्रममा हालेर माटोले ढाकेको स्वीकार गरेका छन् ।

हत्या गरिसकेपछि पंकज आफन्तसँगै खोजतलासमा सहभागी भएको अभिनय गर्दै हिंड्न थाले । ६ असोज बिहान अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दीमा धम्कीपूर्ण सन्देश पठाएर घटनालाई सीमापार अपराधजस्तो देखाउने प्रयास भएको प्रहरीले दाबी गरेको छ । सो सन्देश पठाउन प्रयोग भएको मोबाइल पंकजकै घरभित्रबाट बरामद भएको छ ।

प्रहरीले घटनास्थल वरिपरिबाट गम्छा, ड्रम, मृतक र पंकज दुवैको मोबाइल बरामद गरेको छ । तालिमप्राप्त कुकुर (डग टोली) समेत प्रयोग गरिएको छ । कुकुर सुँघ्दै मृतककै हजुरबुबाको आँगनसम्म पुग्दा अनुसन्धान अझ गहिरिएको प्रहरी स्रोत बताउँछ ।

हत्या भएको रात भारी वर्षाले माटो बगाएपछि ड्रम देखिन थालेको र त्यसपछि पंकजले शव निकालेर आँपबगैँचामा फ्यालेर ड्रम पोखरीमा डुबाएको बयान दिएका छन् ।

पंकज उमेरले नाबालक, तर योजनाबद्ध अपराध । शव लुकाउने, फेरि निकालेर फ्याल्ने काम उनले एक्लैले गरे कि ? मृतक परिवारले प्रश्न उठाइरहेका छन् । करिब चार बिघा जमिनका उत्तराधिकारी अभिषेकको हत्या केवल “ट्याक्टर चलाउन सिकाउन नमानेको” कारणले सम्भव छ कि सम्पत्तिको लोभमा अन्य आफन्तले पनि योजना बुनेका हुन् ? भन्ने प्रश्नमा प्रहरीले अनुसन्धान तीव्र पारेका छन् । 

अनुसन्धान अधिकारीहरू भन्छन्, “प्रमाण बलिया छन्, पंकजको संलग्नता स्पष्ट छ, तर घटनामा अन्य संलग्नता छैन भन्न अहिल्यै निष्कर्षमा पुग्न सकिँदैन ।”

यसै कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति, पारिवारिक मनमुटाव र पंकजले मात्र दोष लिने रणनीतिजस्ता कोणबाट गहिरो छानबिन अघि बढाएको छ ।

अहिले अभिषेककी आमा शोकमा अचेतजस्तै छिन्, गाउँमै भय र अविश्वासको माहोल छ । कानुनी प्रक्रियाबाट सत्यतथ्य सार्वजनिक हुने प्रतीक्षामा स्थानीयबासी छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 80%
  • 20%

Bureau Menus