न्यूज ब्यूरो, महोत्तरी । गेरुका धाममा २०८३ साल जेठ ३ गतेदेखि मलेमास मेला आयोजना हुने भएको छ। मेला व्यवस्थापन समिति तथा स्थानीयवासीले संयुक्त रूपमा आयोजना गर्न लागेको मेलामा हजारौं श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
मिथिला क्षेत्रकै प्राचीन तथा धार्मिक महत्व बोकेको गेरुका धाममा मलेमास (पुरुषोत्तम मास) को अवसर पारेर विशेष पूजाआजा, स्नान तथा धार्मिक अनुष्ठान गरिने आयोजकले जनाएको छ। धार्मिक मान्यताअनुसार मलेमासमा गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा गर्नाले अक्षय पुण्य प्राप्त हुने विश्वास रहिआएको छ।
मेलामा मिथिलाको मौलिक संस्कृति झल्किने झिझिया, कीर्तन, भजनलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। साथै बालबालिकाका लागि पिङ, झुला, सर्कस तथा विभिन्न व्यापारिक स्टलहरू पनि रहने जनाइएको छ। स्थानीय परिकार र मिथिलाको प्रसिद्ध हाटबजारसमेत मेलाको आकर्षणका रूपमा रहनेछन्।
आयोजकका अनुसार जेठ ३ गते आइतबार जानकी मन्दिर बाट जानकीको डोला सहित गोर्खा धाम सम्म पैदल यात्रा गरिने तथा शाही आसन कार्यक्रमसमेत आयोजना हुने छ।
मेला व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई गेरुका धाममा उपस्थित भई धार्मिक पुण्य आर्जन गर्न तथा मेलाको भव्यता बढाउन आग्रह गरेको छ।
- २०८३ बैशाख २९ मंगलबार





