न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पछिल्लो समय मुलुकमा स्थापित हुन खोजिरहेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको टिप्पणी गरेका छन्।
नयाँ शक्तिको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले नयाँ पुस्तामा विचार, सिद्धान्त र राजनीतिक प्रतिबद्धताभन्दा ‘सेलेब्रिटी संस्कृति’ तथा विध्वंसप्रतिको आकर्षण बढ्दै गएको बताए। उनले राजनीतिमा विचार, नैतिकता र सिद्धान्तको प्रधानता हुनुपर्नेमा जोड दिँदै वर्तमान अवस्थालाई “विचारशून्य युग” को संज्ञा दिए।
उनले सामाजिक सञ्जालमा बढ्दो गालीगलौज, तथ्यहीन आरोप–प्रत्यारोप र तर्कविहीन बहसले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाइरहेको बताए। लोकतन्त्रको आधार विचार, बहस र उत्तरदायित्व भए पनि पछिल्लो समय त्यसको विपरीत प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ थियो।
अध्यक्ष राउतले संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यताप्रति नागरिकको विश्वास घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। प्रधानमन्त्री संसदमा उपस्थित भई जनप्रतिनिधिहरूको प्रश्नको जवाफ दिनुपर्ने लोकतान्त्रिक अभ्यासलाई समेत अनावश्यक ठान्ने वातावरण सिर्जना हुनु दुःखद रहेको उनले बताए।
उनले पछिल्लो समय राज्य संयन्त्रमा देखिएको ‘डोजर संस्कृति’ को पनि आलोचना गरे। भौतिक संरचना भत्काउने कार्यलाई विकास र शक्तिको प्रदर्शनका रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गर्दै उनले विकासको नाममा विध्वंसलाई प्रोत्साहन गर्नु उचित नहुने धारणा राखे।
राउतले पुरानो पुस्ताका राजनीतिक नेताहरूले लामो संघर्ष, जेलनेल र त्यागमार्फत लोकतान्त्रिक प्रणाली स्थापित गरेको स्मरण गराउँदै नयाँ पुस्ताले त्यसको मूल्यांकन गर्न छाडेको बताए। उनले विगतका राजनीतिक आन्दोलन र संघर्षको योगदानलाई नकारेर मात्र नयाँ राजनीतिक विकल्प निर्माण हुन नसक्ने धारणा व्यक्त गरे।
आफूहरू समेत प्रविधि र आधुनिक सञ्चार शैलीसँग पर्याप्त रूपमा अनुकूल हुन नसकेको स्वीकार गर्दै अध्यक्ष राउतले अब नयाँ पुस्ताको सोच, अपेक्षा र चाहनाअनुसार राजनीतिक दलहरूले आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। विचार, सिद्धान्त र स्पष्ट राजनीतिक दृष्टिकोणविनाको राजनीतिले देशलाई सही दिशामा लैजान नसक्ने भन्दै उनले सबै राजनीतिक शक्तिहरूभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
विचारविहीन र तर्कहीन बन्दै गएका छन् वैकल्पिक राजनीतिक शक्तिः सीके राउत
- २०८३ जेठ ३० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पछिल्लो समय मुलुकमा स्थापित हुन खोजिरहेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको टिप्पणी गरेका छन्। नयाँ शक्तिको स्थापना दिवसका
पूरा पढ्नुहोस्



