रौतहटको 'पेटभरवा' लाई 'यदुवंशी नगर' नाम परिवर्तन नगर्न उच्च अदालतको अन्तरिम आदेश

२०८३ भदौ ४ बिहीबार
बिहान ०८:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवा गाउँको नाम परिवर्तन गरी ‘यदुबंशी नगर’ राख्ने निर्णय विवादमा परेको छ । नाम परिवर्तनसम्बन्धी विवादमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको संयुक्त इजलास नम्बर ३ ले रामनाथ राय यादवसमेतले जिल्ला प्रशासन कार्यालय रौतहट, गौरसमेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्वय रेखा थापा पाण्डे र अस्मिनकुमार राईको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म विवादित विषयमा यथास्थिति कायम राख्न आदेश दिएको छ । आदेशसँगै तत्कालका लागि पेटभरवा गाउँको नाम परिवर्तन गरी ‘यदुबंशी नगर’ कायम गर्ने प्रक्रिया रोकिएको छ ।

अदालतले रिट निवेदनसँग सम्बन्धित समान प्रकृतिको विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको उल्लेख गर्दै विवादित विषयमा संवैधानिक तथा कानुनी आधार स्पष्ट हुन आवश्यक देखिएको जनाएको छ ।

अदालतका अनुसार विवादका कारण सम्बन्धित वडा कार्यालयको दैनिक कामकारबाही प्रभावित भई आम सरोकारवाला तथा सेवाग्राहीलाई प्रत्यक्ष क्षति पुग्न सक्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा अन्तरिम संरक्षण आवश्यक देखिएकाले रिटको अन्तिम टुंगो नलागेसम्म यथास्थिति कायम राख्न आदेश गरिएको हो ।

यसको अर्थ तत्कालका लागि वडा–६ को पुरानै नाम ‘पेटभरवा’ कायम रहनेछ । ‘यदुबंशी नगर’ नाम कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउन पाइने छैन ।

तर अदालतले पेटभरवा नाम नै स्थायी रूपमा कायम रहने वा ‘यदुबंशी नगर’ नाम लागू हुने भन्ने विषयमा भने अन्तिम फैसला गरेको छैन । यो अन्तरिम आदेश भएकाले रिटको अन्तिम सुनुवाइपछि अदालतले विवादको कानुनी निरूपण गर्नेछ ।

अदालतले विपक्षीहरूलाई आदेशको जानकारी गराई नियमअनुसार मुद्दा पेश गर्नसमेत आदेश दिएको छ ।

अन्तरिम आदेशसँगै पेटभरवा गाउँको नाम परिवर्तनसम्बन्धी विवादमा तत्कालका लागि नयाँ नाम कार्यान्वयन गर्ने बाटो रोकिएको छ । मुद्दाको अन्तिम फैसला नआएसम्म पुरानै अवस्था कायम रहने भएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

किसानले मल नपाइरहेका बेला वडा सदस्य महतोले अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद

  • २०८३ भदौ ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको

पूरा पढ्नुहोस्

Bureau Menus