Close This

मधेशमा पदाधिकारीका लागि डेढ करोडसम्म र संघीय विशिष्टका लागि ४ करोडसम्मको गाडी किन्न पाइने

२०८३ भदौ ३ बुधबार
बिहान ०९:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका उच्च पदाधिकारीका लागि बढीमा १ करोड ५० लाख रुपैयाँसम्म र संघीय सरकारका अति विशिष्ट पदाधिकारीको प्रयोजनका लागि ४ करोड रुपैयाँसम्मको सवारी साधन खरिद गर्न पाउने व्यवस्था गरेको छ ।

मधेश अर्थ मन्त्रालयले जारी गरेको ‘प्रदेश खर्च मापदण्ड निर्देशिका–२०८३’ मा यस्तो व्यवस्था गरिएको हो । निर्देशिकाअनुसार प्रदेशका मुख्यमन्त्री र सभामुखका लागि बढीमा १ करोड ५० लाख रुपैयाँसम्मको जिप खरिद गर्न सकिनेछ ।

त्यस्तै मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री र उपसभामुखका लागि १ करोड २० लाख रुपैयाँसम्म, प्रमुख सचिव, आयोगका पदाधिकारी तथा मुख्य न्यायाधिवक्ताका लागि ८० लाख रुपैयाँसम्म र प्रदेश सचिव वा सो सरहका पदाधिकारीका लागि ६० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

संघीय सरकारका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीशलगायत अति विशिष्ट पदाधिकारी मधेश प्रदेश भ्रमणमा आउँदा प्रयोग गर्ने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा तोकिएको निकायले बढीमा ४ करोड रुपैयाँसम्मको एक थान सवारी साधन खरिद गर्न सक्नेछ ।

निर्देशिकाले अत्यावश्यक अवस्थामा बाहेक अर्थ मन्त्रालयको सहमतिबिना चारपांग्रे तथा दुईपांग्रे सवारी साधन खरिद गर्न रोक लगाएको छ । भएका सवारी साधनलाई नियमित मर्मतसम्भार गरी मितव्ययी ढंगले प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, सवारी सुविधा पाउने पदाधिकारीलाई प्रचलित कानुनले तोकेको अवस्थाबाहेक एकभन्दा बढी सवारी साधन उपलब्ध गराउन नपाइने भएको छ ।

बैठक भत्तामा पनि निर्देशिकाले सीमा तोकेको छ । एउटै निकायका पदाधिकारी वा कर्मचारी मात्र सहभागी हुने नियमित बैठकमा बैठक भत्ता दिइने छैन । कानुनबमोजिम गठित समिति वा कार्यदलको बैठकमा मात्र भत्ता उपलब्ध गराइनेछ । समिति वा कार्यदलमा बढीमा सात जना सदस्य राख्न पाइनेछ भने आवश्यक परे बढीमा तीन जना विशेषज्ञलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन सकिनेछ ।

एक व्यक्तिले एक दिनमा बिहान र बेलुका गरी बढीमा दुई वटा बैठकको मात्र भत्ता लिन पाउनेछ । सार्वजनिक बिदाको दिन भने बढीमा तीन वटा बैठकको भत्ता लिन सकिने व्यवस्था गरिएको छ ।

भ्रमण खर्चमा समेत कडाइ गरिएको छ । स्वदेश भ्रमणमा मुख्यमन्त्री र सभामुखको सचिवालयबाट बढीमा दुई कर्मचारी र दुई सुरक्षाकर्मी तथा अन्य पदाधिकारीको हकमा एक कर्मचारी र एक सुरक्षाकर्मीको मात्र दैनिक तथा भ्रमण खर्च भुक्तानी गरिनेछ ।

सरकारी निकायका पदाधिकारीले निर्माण व्यवसायी वा परामर्शदाताको खर्चमा स्वदेश वा विदेश भ्रमण गर्न नपाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

प्रदेशभित्रको भ्रमणमा एक पटकमा बढीमा चार दिन र प्रदेश बाहिरको भ्रमणमा बढीमा पाँच दिनसम्मको दैनिक भत्ता पाइनेछ । पटक–पटक भ्रमण गर्दा एक महिनामा बढीमा १२ दिनसम्म मात्र भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ । तर तालिम वा पूर्वनिर्धारित लामो अवधिको विशेष कार्यक्रममा सहभागी हुने हकमा भने यो सीमा लागू नहुने जनाइएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

  • २०८३ भदौ ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus