Close This

हिन्दु मुस्लिम विवादः सिराहामा १५ वर्षीय गणेश यादवको मृत्यु प्रहरीकै गोलीबाट भएको निष्कर्ष

२०८३ भदौ ३ बुधबार
बिहान ०८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिराहा । दुई समुदायबीचको तनावका क्रममा सिराहामा मृत्यु भएका १५ वर्षीय गणेश यादवको ज्यान प्रहरीकै गोलीबाट गएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

सरकारले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठन गरेको छानबिन समितिले घटनास्थलका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान, स्थानीयले खिचेका भिडियो, पोस्टमार्टम प्रतिवेदन तथा ब्यालेस्टिक परीक्षणका आधारमा यादवलाई लागेको गोली प्रहरीतर्फबाट चलेको पुष्टि गरेको हो ।

समितिले घटनाका क्रममा पेस्तोल बोकेर परिचालन भएका सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै आवश्यक कारबाही गर्नसमेत सिफारिस गरेको छ । यद्यपि, कुन अधिकारीलाई कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने विषय प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

सिराहामा साउन १४ गते दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । सोही क्रममा यादवको मृत्यु भएको थियो । यादवलाई लागेको गोली नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमध्ये कसको हतियारबाट चलेको हो भन्ने विषय घटनापछि विवादित बनेको थियो ।

सुरक्षाकर्मीले त्यस दिन हवाई फायर भएको स्वीकार गरे पनि यादवलाई लागेको गोलीको जिम्मेवारी भने कुनै सुरक्षा निकायले लिएको थिएन । घटनाको अनुसन्धानका क्रममा प्राप्त दृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान तथा प्राविधिक परीक्षणबाट गोली प्रहरीतर्फबाट चलेको देखिएको समितिका अधिकारीहरूले बताएका छन् ।

पोस्टमार्टममा संलग्न चिकित्सकको राय तथा ब्यालेस्टिक परीक्षणबाट पनि यादवको मृत्यु पेस्तोलबाट प्रहार भएको गोलीका कारण भएको निष्कर्ष निकालिएको छ । गोलीको प्रकृति र स्रोत पहिचान गर्न नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञलाई समेत समितिमा सहभागी गराइएको थियो ।

समितिका अनुसार घटनास्थलमा अन्यत्रबाट गोली चलेको प्रमाण भेटिएको छैन । सिराहामा तनाव नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउण्ड हवाई फायर गरेको बताइए पनि सुरक्षाकर्मीबाटै गोली चलेको हो वा होइन भन्ने विषयमा प्रारम्भमा स्पष्टता नहुँदा अनुसन्धान जटिल बनेको थियो ।

गोली प्रहारको जिम्मेवारी कसैले नलिएपछि सरकारले प्राविधिक पक्षसमेत समेटेर छानबिन अघि बढाएको थियो । समितिमा प्रहरी निरीक्षक दीपेश अवस्थी र प्रहरी उपरीक्षक मनोहरसिंह धामीलाई ब्यालेस्टिक तथा फरेन्सिक परीक्षणको जिम्मेवारी दिइएको थियो ।

समितिमा नेपाल प्रहरीका एसपी मोहनकुमार थापा, सशस्त्र प्रहरीका एसपी नरेश भण्डारी, नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका डीएसपी पवनकुमार ढुंगाना तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याल सदस्य रहेका थिए ।

छानबिन समितिले घटनामा पेस्तोल बोकेर परिचालन भएका अधिकारीहरूको भूमिकाबारे समेत अध्ययन गरेको छ । गोली चलाउने क्रममा कमान्ड तथा परिचालनसम्बन्धी निर्णय कसरी भएको थियो भन्ने विषयलाई पनि समितिले गम्भीरतापूर्वक हेरेको जनाएको छ ।

समितिका एक अधिकारीका अनुसार सुरक्षाकर्मीहरूबाट घटनाको जिम्मेवारी लिएर बयान दिन प्रारम्भमा हिच्किचाउनुको एउटा कारण कारबाहीमा पर्ने डर हुन सक्ने देखिएको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन भिड नियन्त्रणका क्रममा घातक हतियारको प्रयोगभन्दा गैरघातक हतियारलाई प्राथमिकता दिन समितिले सुझाव दिएको छ । त्यस्तै, गोली चलाउने निर्णयको अधिकार फिल्ड कमान्डरलाई नै स्पष्ट रूपमा दिनुपर्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको छ ।

हाल गोली चलाउने अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहे पनि उनीहरू फिल्डमा प्रत्यक्ष रूपमा नखटिँदा प्रशासन र सुरक्षाकर्मीबीच समन्वयमा समस्या देखिएको समितिको ठहर छ । फिल्डमा परिचालित सुरक्षा निकायलाई निश्चित जिम्मेवारी र अधिकार दिएर जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको समितिले औँल्याएको छ ।

त्यसैगरी भिड नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा दिइएको छ ।

सिराहाको घटनाअघि साउन १० गते राति सुनसरीको देवानगञ्ज–४ मा दुई समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरी टोली पछि हटेको बताइएको थियो ।

त्यसपछि पुगेको सशस्त्र प्रहरीको टोलीले २० राउण्ड फायर गरेको थियो । उक्त घटनामा ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने नौ जना स्थानीय घाइते भएका थिए । उपचारका क्रममा थप दुई जनाको समेत मृत्यु भएको थियो ।

सुनसरीमा सुरक्षाकर्मीबाट भएको गोली प्रहार र त्यसपछि भएको जनधनको क्षतिले मधेशका विभिन्न क्षेत्रमा आक्रोश बढेको थियो । सोही क्रममा सिराहासहित विभिन्न जिल्लामा तनाव उत्पन्न भएपछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो ।

प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले समेत घटनाबारे चासो देखाउँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज

  • २०८३ भदौ ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका

पूरा पढ्नुहोस्

Bureau Menus