मदरसा पढ्ने नाबालिगमाथि एक वर्षदेखि यौन शोषणको आरोप, मौलवी अब्दुल पक्राउ

२०८३ भदौ १२ शुक्रबार
बिहान ०८:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । भारतको उत्तर प्रदेशस्थित फतेहपुरमा मदरसा पढ्ने १३ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाएर करिब एक वर्षदेखि यौन शोषण गरेको आरोपमा एक मौलवी पक्राउ परेका छन् ।

ललौली थाना क्षेत्रको एक गाउँमा रहेको मदरसामा धार्मिक शिक्षा दिँदै आएका अब्दुल समदमाथि किशोरीलाई पटक–पटक यौन शोषण गरेको आरोप लागेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फर्रुखाबाद जिल्लाका बन्थल शाहपुर क्षेत्रका बासिन्दा हुन् ।

प्रहरीका अनुसार अब्दुल समद करिब डेढ वर्षदेखि उक्त मदरसामा पढाउँदै आएका थिए । सोही क्रममा मदरसामा अध्ययनरत किशोरीसँग उनको नजिकको सम्बन्ध बनेको र विवाह गर्ने प्रलोभन देखाएर शोषण गरेको आरोप छ ।

घटना बाहिरिनुको कारण भने किशोरीलाई लिएर फरार हुन खोज्नु बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार राति किशोरी घरबाट हराएपछि परिवारले खोजी सुरु गरेको थियो । खोजीका क्रममा मौलवीले किशोरीलाई लिएर मुख्य सडकतर्फ जाँदै गरेको अवस्थामा परिवार तथा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले घेरा हालेपछि मौलवीले प्रहरीलाई फोन गरेका थिए । त्यसपछि दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रहरीसमक्ष किशोरीले मदरसा तथा मस्जिदमा बोलाएर आफूलाई पटक–पटक यौन शोषण गरेको र विवाह गर्ने आश्वासन दिएको बयान दिएको बताइएको छ ।

प्रहरीले सुरुमा अपहरणसम्बन्धी मुद्दा दर्ता गरेको थियो । किशोरीको बयानपछि घटनामा यौन अपराधसम्बन्धी थप कानुनी व्यवस्था समेटिएको जनाइएको छ ।

प्रहरीले आरोपी अब्दुल समदलाई पक्राउ गरी अदालतमार्फत कारबाही अघि बढाएको छ । किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus