न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ देखि भदौ महिनाबाटै विकास बजेट कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
आर्थिक वर्षको अन्त्यमा मात्रै विकास निर्माणका कामलाई तीव्रता दिने पुरानो प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले भदौमै सबै मन्त्रालयलाई बजेट खर्च गर्ने अख्तियारी दिएको हो । अख्तियारी पाएसँगै मन्त्रालयहरूले आफ्नो योजनाअनुसार विकास निर्माणका कामको प्रक्रिया अघि बढाउन सक्ने भएका छन् ।
यसअघि कर्मचारीको तलब, भत्ता, इन्धनलगायत चालु खर्च नियमित हुने गरे पनि विकास बजेट लामो समय रोकिएर आर्थिक वर्षको अन्तिमतिर जेठ–असारमा हतारहतार खर्च गर्ने प्रवृत्ति थियो । ढिलो गरी बजेट कार्यान्वयनमा लैजाँदा कामको गुणस्तरमा प्रश्न उठ्नुका साथै बजेटसमेत फ्रिज हुने अवस्था देखिँदै आएको थियो ।
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षदेखि सुरुदेखि नै विकास बजेट कार्यान्वयनमा लैजाने नीति लिइएको बताए । उनका अनुसार मन्त्रालयहरूले समयमै बोलपत्र प्रक्रिया अघि बढाएर योजना कार्यान्वयन गर्न सक्नेछन् ।
प्रदेश सरकारले विकास निर्माणका योजना उपभोक्ता समितिमार्फत मात्रै सञ्चालन गर्ने पुरानो अभ्यासलाई समेत निरुत्साहित गर्दै यस वर्ष बोलपत्र प्रक्रियालाई प्राथमिकता दिएको छ । सरकारले एक करोड रुपैयाँभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने नीति पनि लिएको छ ।
विगतमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने टुक्रे योजनामा अनियमितता, योजना किनबेच तथा कमिसनको खेल हुने गरेको आरोप लाग्दै आएको थियो । यस्ता विकृति नियन्त्रण गर्न ठेक्का प्रक्रियामार्फत विकास आयोजना अघि बढाउने सरकारको दाबी छ ।
अर्थमन्त्री भट्टराईले बजेट विनियोजन भइसकेपछि भुक्तानीका लागि मन्त्रालय, मन्त्री वा सचिवसँग भनसुन गर्नुपर्ने अवस्थासमेत अन्त्य गरिएको बताए ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व संकलनमा कमी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै केही मन्त्रालयका केही बजेट शीर्षक भने रोक्का गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सुरुदेखि नै बजेट कार्यान्वयनमा जोड दिँदा आर्थिक वर्षको अन्त्यमा हुने अस्वाभाविक खर्च नियन्त्रण हुनुका साथै विकास आयोजनाको गुणस्तर सुधार हुने प्रदेश सरकारको विश्वास छ ।
एआई एक्सरेबाट क्षयरोग पहिचान , सुरुङ्गा–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- २०८३ भदौ १८ बिहीबार
न्यूज ब्युरो, राजविराज । सप्तरीका सुरुङ्गा नगरपालिका–०२ स्थित स्वास्थ्य चौकी हर्दिया, भेडियामा एआई एक्सरे प्रविधिमार्फत क्षयरोग पहिचान गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन्। शिविरमा एआई एक्सरे प्रविधिको प्रयोग
पूरा पढ्नुहोस्




