भुईँमा खसेको भुजिया प्याक गरेको भन्दै भारतमा वाईवाईको प्रोडक्टमध्ये भेज भुजिया नमकिनको उत्पादन रोक्न निर्देशन

२०८३ भदौ १९ शुक्रबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क
“भारतको राजस्थानस्थित सीजी फुड्स इन्डियाको कारखाना । तस्बिर : सीजी कर्प ग्लोबल”

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली उद्योगपति विनोद चौधरी नेतृत्वको सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी फुड्स इन्डियामाथि भारतमा खाद्य सुरक्षा उल्लंघनको आरोपमा कारबाही भएको छ ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले राजस्थानको अजमेरस्थित रुपनगढमा रहेको सीजी फुड्स इन्डियाको कारखानामा निरीक्षणका क्रममा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी गम्भीर त्रुटि भेटिएपछि ‘भेज भुजिया नमकिन’ उत्पादन रोक्न निर्देशन दिएको हो ।

एफएसएसएआईका अनुसार कारखानामा भुइँमा खसेका तथा टुक्रिएका चाउचाउ संकलन गरी उचित ताप उपचारबिनै भुजिया उत्पादनमा पुनः प्रयोग भइरहेको भेटिएको थियो ।

त्यस्तै, ‘वाईवाई मामा’ र ‘वाईवाई मामा पुंटे’ नामका भुजिया उत्पादन आवश्यक अनुमति वा इजाजतपत्रबिना उत्पादन भइरहेको समेत निरीक्षणका क्रममा पाइएको एफएसएसएआईले जनाएको छ । यो भारतको खाद्य सुरक्षा तथा मापदण्ड ऐन, २००६ को दफा ३१(१) विपरीत रहेको नियामकको भनाइ छ ।

कारखानामा उत्पादनको प्याकेजिङमा अघिल्लो मिति राखिएको तथा खाद्य स्वच्छता र अभिलेख व्यवस्थापनमा समेत कमजोरी भेटिएको जनाइएको छ । पर्याप्त कीरा नियन्त्रणसम्बन्धी अभिलेख नरहेको लगायतका कमजोरीसमेत निरीक्षणका क्रममा फेला परेको एफएसएसएआईले जनाएको छ ।

निरीक्षणका क्रममा एफएसएसएआईले कारखानाबाट ३२ हजार १०७।२ किलोग्राम खाद्य सामग्री नियन्त्रणमा लिएको छ । यसमा खुला तथा टुक्रिएका चाउचाउसमेत रहेका छन् । त्यस्तै, म्याद गुज्रिएका तयारी खाद्य सामग्रीका १ हजार ९२५ बक्स पनि नियन्त्रणमा लिइएको छ ।

नियामकले भुइँबाट संकलन गरिएको चाउचाउ, भुजियाका दुई प्रकार, चाउचाउ उत्पादनमा प्रयोग भएको तेल तथा ‘वाईवाई रेडी टु इट नुडल्स’ का नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ ।

एफएसएसएआईले कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको र प्रयोगशाला परीक्षण तथा निरीक्षणबाट प्राप्त निष्कर्षका आधारमा थप कारबाही गरिने जनाएको छ ।

सीजी फुड्स इन्डिया सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो, जसको नेतृत्व नेपाली उद्योगपति विनोद चौधरीले गर्दै आएका छन् । वाईवाई चाउचाउ उत्पादनका कारण चौधरीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘नुडल किङ’ का रूपमा समेत उल्लेख गर्ने गरेका छन् । रोयटर्सका अनुसार घटनाबारे प्रतिक्रिया लिन खोज्दा सीजी फुड्स इन्डियाले तत्काल प्रतिक्रिया दिएको थिएन ।

यस घटनालाई भारतमा खाद्य सुरक्षा, उत्पादन स्वच्छता र लेबलिङसम्बन्धी नियम कार्यान्वयनमा कडाइ भइरहेका बेला भएको पछिल्लो कारबाहीका रूपमा हेरिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि 'ग्रेस इन्टरनेसनल ग्रुप' ले दियो २५ लाख सहयोग

  • २०८३ भदौ १९ शुक्रबार

काठमाडौं । बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रेस इन्टरनेसनल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रेस इन्टरनेसनलका सह–संस्थापक

पूरा पढ्नुहोस्

Bureau Menus