त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि साहको जीवितै उद्धार, अरूको खोजी जारी

२०८३ भदौ १९ शुक्रबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर तथा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।

यसअघि शुक्रबार बिहान उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको न्यौपानेले बताएका थिए । नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र मानिसको आवाज सुनेको जानकारी आफूलाई दिएको उनले बताएका थिए ।

आवाज सुनिएको जानकारीपछि उद्धार टोलीले सुरुङभित्रको खोजीलाई तीव्र बनाएको थियो । त्यसक्रममा एक जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो ।

न्यौपानेले सुरुङभित्र अरू व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको बताएका छन् । उनीहरूको अवस्थाबारे यकिन गर्न तथा उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

बाढीपछि सुरुङको प्रवेशद्वार लेदो, ढुंगा तथा भग्नावशेषले पुरिएका कारण उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गर्न कठिनाइ हुँदै आएको थियो । उद्धारका लागि सुरुङ क्षेत्रमा लगातार भग्नावशेष हटाउने तथा वैकल्पिक मार्गबाट भित्र पुग्ने प्रयास भइरहेको थियो ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८३ भदौ १९ शुक्रबार

Bureau Menus