एजेन्सी । दक्षिणी इरानको कुहेस्तकमा विवाह समारोह भइरहेका बेला भएको अमेरिकी हवाई हमलाले एउटा घरलाई भग्नावशेषमा परिणत गरेको छ । घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र ६८ जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
घटना गत सेप्टेम्बर १ को हो । कुहेस्तकस्थित अली मल्लाहीको घरमा उनकी छोरीको विवाहका लागि आफन्त तथा महिला र बालबालिका भेला भएका बेला शक्तिशाली विस्फोट भएको थियो । हमलापछि घरको छानो र भित्ताहरू भत्किएका छन् भने घर वरपर मानिसका सामान, जुत्ता तथा भग्नावशेष छरिएका तस्बिर सार्वजनिक भएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घटनामा दुई महिला र ४ तथा १६ वर्षका दुई बालबालिकाको मृत्यु भएको छ । ६८ जना घाइते भएका छन् । प्रारम्भमा पाँच जनाको मृत्यु भएको भनिए पनि पछि मृतक संख्या चार रहेको जनाइएको थियो ।
घटनापछि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विवाह समारोहका लागि भेला भएको घर पूर्णरूपमा क्षतिग्रस्त देखिन्छ । घरको छानोमा ठूलो प्वाल परेको छ भने वरपरका संरचनामा समेत व्यापक क्षति पुगेको छ । घाइतेहरूलाई उपचारका लागि मिनाबस्थित अस्पताल लगिएको थियो ।
हताहतीको यो घटना अमेरिकाले दक्षिणी इरानमा गरेको सैन्य कारबाहीका क्रममा भएको हो । अमेरिकी सेनाले उक्त क्षेत्रमा हवाई सुरक्षा प्रणाली, राडार तथा समुद्री सैन्य संरचनालाई लक्ष्य बनाइएको बताएको छ । अमेरिकी पक्षले सर्वसाधारणलाई जानाजानी निशाना नबनाइएको दाबी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
तर रोयटर्सका लागि गरिएको हतियार विशेषज्ञहरूको विश्लेषणले विवाह भइरहेको घरमा भएको विस्फोट अमेरिकी हतियारको प्रत्यक्ष प्रहारबाट भएको हुनसक्ने देखाएको छ । उपलब्ध तस्बिर र भिडियोको विश्लेषणका आधारमा उक्त विस्फोट सम्भवतः करिब ५०० पाउन्डको हवाई बमबाट भएको निष्कर्ष निकालिएको छ । विवाह भइरहेको घर नजिकै रहेको सञ्चार टावर पनि हमलाको लक्ष्यमा परेको बताइएको छ ।
घटनापछि कुहेस्तकमा शोक छाएको छ । विवाहका लागि जम्मा भएका परिवारका सदस्य र आफन्तमध्ये कोही मृत्युवरण गर्न पुगे भने दर्जनौँ घाइते भएका छन् । सार्वजनिक भएका तस्बिरमा क्षतिग्रस्त घर र पीडित परिवारको शोकपूर्ण अवस्थाले युद्धको प्रत्यक्ष मानवीय मूल्य देखाएको छ ।
इरान र अमेरिकाबीच जारी सैन्य तनावका क्रममा सर्वसाधारण प्रभावित भएको यो पछिल्लो गम्भीर घटना हो । यसअघि पनि इरानमा अमेरिकी हमलाबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको घटनाले अन्तर्राष्ट्रिय रूपमा प्रश्न उठाउँदै आएको छ ।
विवाहको खुसीमा भेला भएको एउटा परिवारमाथि भएको यो हमलाले दक्षिणी इरानमा जारी युद्धको भयावह मानवीय तस्वीर फेरि सतहमा ल्याएको छ ।
नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास
- २०८३ भदौ २१ आइतबार
नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई
पूरा पढ्नुहोस्





