यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

२०७९ असोज १० सोमबार
बिहान ०७:५५ बजे

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् । मतदातालाई भेट्दै, मतका लागि अनुनय गर्दै उनीहरू आफ्नो चुनावी अभियानलाई अगाडी बढाइरहेका छन् ।

यतिखेर यस्तै अभियानमा सक्रिय छन् - डा. बिरेन्द्र पसाद महतो । माछापुच्छ्रे बैंकका अध्यक्ष र तत्कालीन संविधान सभा सदस्यसमेत रहेका उनी सिरहा क्षेत्र नम्बर ४ बाट यसपालि प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन् । यसका लागि उनले अहिलेदेखि नै कार्यकर्ता र मतदाता भेटघाटलाई तीब्र बनाएका छन् ।

सिरहा ४ बाट २०७४ को अघिल्लो आम निर्वाचनमा जसपाका राजकिशोर यादव निर्वाचित भएका थिए । यसपालि जसपा कांग्रेस, माओवादी, नेकपा एससहितको गठबन्धनमा छ । 

यसअघिको निर्वाचनमा यस क्षेत्रमा जसपा जितेकाले यसपालि पनि गठबन्धनबाट यो क्षेत्र जसपाले नै पाउने निश्चित जस्तै छ । तर, जसपाले नै यो क्षेत्र पाउने भएपनि जसपाबाट उम्मेदवार को हुने ? भन्ने दृश्य अझै सफा भइसकेको छैन ।

तर, डा. महतो विगतमा चुनावको सम्पूर्ण तयारी गरेर पनि आफू पार्टी नेतृत्वको आग्रहमा पटकपटक त्याग देखाएर अन्य उम्मेदवारलाई क्षेत्र छाड्दै आएकाले यसपालि पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा ढुक्क छन् । टिकट नपाएपनि यसपालिको निर्वाचनमा 'ब्याक' नहुने मुडमा उनी छन् । यही सेरोफेरोमा केन्द्रित रहेर हामीले डा. महतोसँग संक्षिप्त संवाद गरेका छौं । प्रस्तुत छ :

आजभोलि के गर्दै हुनुहुन्छ ?
चुनाव नजिक आइसकेको छ । क्षेत्रका विभिन्न स्थानबाट नेता कार्यकर्ताले निरन्तर रुपमा भेटघाटका लागि बोलाइरहनुभएको छ । उहाँहरुलाई भेटिरहेको छु । जनतासँग मैले मेरा योजनाहरुका बारेमा जानकारी गराउँदै मतका लागि अपिल गरिरहेको छु । उहाँहरुको थप आवश्यकलाई 'नोट' गर्ने काम पनि मेरो टिमले गरिरहेको छ । अहिलेको दैनिकी यसैगरी चल्दैछ ।

जनताको कस्ता-कस्ता आवश्यकता देखिइरहनुभएको छ ? जनताको मूड कस्तो पाइरहनुभएको छ ?
जनताको मूड 'अफ' छ । नेताबाट जनता 'फ्रस्ट्रेट' भइसकेका छन् । यसकारण की, नेताहरुले अहिलेसम्म जनतालाई भोट खसाल्ने बस्तुको रुपमा मात्र लिएका रहेछन् । अनेक बाचा कसम गरेर चुनाव जित्ने अनि त्यसपछि जनतालाई बिर्सिदिने । यो क्षेत्रको अवस्था पनि यस्तै छ । सहजै सम्बोधन गर्न सकिने स-साना आवश्यकताहरु जनताको पाइरहेको छु । तर, सम्बोधन गरिएको छैन । अचम्म पनि लाग्छ, दु:ख पनि लाग्छ ।

चुनाव जित्न सबै नेताले मिठा-मिठा कुरा गर्छन् । तर, जितेपछि बद्लिन्छन् । तपाईं पनि जितिसकेपछि जनतालाई बिर्सिनुहुन्छ होला नि ?
तपाईंको शंका स्वभाविक हो । नेताहरुले राजनीतिलाई व्यवासाय जस्तो बनाइदिएका छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरु अपराधी हुन्, ठग हुन् । राजनीति सेवा हो भन्नेमा विश्वास गर्छु म । म राज्यको पदमा भएपनि नभएपनि जनताको काम निरन्तर गरेको कुरा छर्लङ्ग छ । अधिकांश ठाउँमा जनताको आवश्यकतालाई निजी लगानीमै सम्बोधन गरेको छु । धेरैलाई रोजगारी दिएको छु । मबाट हुने सबै खाले सहयोग गर्दै आएको छु । त्यसैले म के भन्न चाहन्छु भने राजनीति म जनतालाई सेवा गर्नका निम्ति गर्छु । म राज्यको कुनै पदमा भएपनि नभएपनि मलाई फरक पर्दैन । तर, मुख्य कुरा के हो भने जनताका लागि मैले थुप्रा सपनाहरु देखेको छु, योजनाहरु बुनेको छु । यो सबै सपना साकार पार्न म राज्यको त्यो ठाउँमा पुग्न आवश्यक छ । यहाँका जनताको चाहना पनि यही छ । म चुनाव सहजै जित्दैछु ।

तर, यति कुरा गरिरहँदा मुख्य सवाल के छ भने टिकटको विषय अहिले स्पष्ट भएकै छैन । मानौं, गठबन्धनबाट तपाईंकै पार्टी जसपाले नै टिकट पाउँछ, तर तपाईंकै पार्टीमा अन्य पनि दावेदार छन् नि ?
हेर्नोस्, यसअघिको निर्वाचनमा पनि गठबन्धनबाट प्रतिनिधि सभाका लागि म उम्मेदवार हुने कुरा 'फिक्स' थियो । तर, अन्तिम समयमा तत्कालीन राजपा र फोरमको गठबन्धन जोगाउन पार्टी नेतृत्वको आग्रहमा मैले त्याग देखाएर राजपालाई सिट छाडेको थिएँ । तत्कालीन क्षेत्र नम्बर ५ बाट प्रचण्डजी चुनाव लड्दा पनि मैले पार्टी नेतृत्वको आग्रहमा चुनावबाट 'ब्याक' भएँ । जबकि जनताको चाहना म थिएँ । तर, त्याग गरेर सहयोग गरेकाहरु विजयी भएपनि यो क्षेत्र बनाएन । झुट बोले, जनता ठगे । सिरहा ४ अहिले अभिभावक विहीन अवस्थामा पुगेको छ । अब म हेर्न सक्दिनँ । अब पनि त्याग नै गरेँ भने यो क्षेत्र र यहाँका जनतासँग अन्याय नै हुन्छ । त्यसैले यी सबै विषय मूल्यांकन गरेर यसपालि पार्टीले पनि मलाई नै उम्मेदवार बनाउनेमा म ढुक्क छु ।

पार्टीबाट टिकट नपाए तपाईं एमाले प्रवेश गरेर चुनाव लड्ने हल्ला पनि चलेको छ नि ?
यो हल्ला मैले पनि सुनेको हुँ । तर, यसमा कुनै सत्यता छैन । यो निराधार र प्रायोजित हल्ला हो । म उम्मेदवार हुने कुराबाट तर्सिएकाहरु यस्तो हल्ला फिजाएका छन् । जनतामा भ्रम सिर्जना गर्न खोजेका छन् । 

मानौं, तपाईं पार्टीबाट टिकट पाउनुहुन्न । त्यसपछि के गर्नुहुन्छ ? चुनाव लड्नुहुन्न त्यसो भए ?
उम्मेदवारीको विषयमा म के स्पष्ट पार्न चाहन्छु भने, चुनाव म 'एनिहाउ' लड्ने हो । यदी पार्टीले टिकट दिएन भने म स्वतन्त्र भएपनि चुनाव लड्छु-लड्छु । तर, अन्य पार्टीमा जान्न । पार्टीबाट भएपनि वा नभएपनि यसपालि जनताले मलाई आफ्नो प्रतिनिधि चुन्ने मुड बनाएका छन् । त्यसकारण कुनै हालतमा 'ब्याक' हुन्न ।

मान्नुस्, तपाईंले टिकट पाउनुहुन्छ । तर, तपाईं स्वतन्त्र भएर जित्ने दावी गरे पनि यहाँका मतदाताको चेतनाको स्तर काठमाडौं धरानको जस्तो छैन । त्यसकारण संगठनले पनि एकदमै मायने राख्छ । तपाईंको पार्टीको संगठन पछिल्लो समय यस क्षेत्रमा भत्ताभुङ्ग अवस्थामा छ नि ?
तपाईंले भनेको ठिक हो । यस क्षेत्रमा संगठन अभिभावक बिहीन अवस्थामा छ । संगठनलाई मजबुत बनाउनुको सट्टा आफू मजबुत हुने खेलमा लागेकाहरुका कारण पार्टी अहिले यहाँ नराम्रो अवस्थामा पुगेको छ । हाम्रा कार्यकर्ता लावारिस जस्तो अवस्थामा पुगेका छन् । जसकारण कतिपयले त पार्टी नै छाडिसके । तर, मेरो अहिलेको दौडाहा त्यसैमा केन्द्रित छ । संगठन बिग्रेका ठाउँमा संवाद गरेर ठिकठाक पार्ने काम गरिरहेको छु । कार्यकर्तालाई मनोबल दिने काम गरिरहेको छु । संगठन लयमा फर्किरहेको छ । नेता कार्यकर्ता अन्य पार्टी छाडेर हाम्रो पार्टीमा प्रवेशको क्रम पनि बढेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मैले यहाँका मेरा नेता, कार्यकर्ता, जनता, मतदाता, शुभेच्छुक, साथीहरूसँग के अपिल गर्न चाहन्छु भने म चुनाव लड्नेमा तपाईंहरु ढुक्क हुनुस् । अब हामी सबै मिलेर यो क्षेत्र, यो समाज, यो देश बनाउनुपर्नेछ । तपाईंहरुको साथ बिना यो सम्भव छैन । मलाई भगवानले सबैथोक दिएको छ । तर, म तपाईंहरुको सेवाका लागि राजनीतिमा आएको हुँ । किनभने म वा मेरो परिवार मात्रै समृद्ध भएर हुँदैन । यो समाज, यहाँका जनता समृद्ध भए मात्र म सफल हुन्छु भन्ने मान्यता मेरो हो । एकपटक मौका दिनुस्, काम गरेर तपाईंहरुको मन जित्न सकिनँ भने अर्को पटक मत माग्न आउँदिन ।

  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%
  • 0%

चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो प्रसारित, सामाजिक सञ्जालमा व्यापक चर्चा

  • २०७९ असोज १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ।  पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा

पूरा पढ्नुहोस्

Bureau Menus