यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

२०७९ असोज १० सोमबार
बिहान ०७:५५ बजे

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् । मतदातालाई भेट्दै, मतका लागि अनुनय गर्दै उनीहरू आफ्नो चुनावी अभियानलाई अगाडी बढाइरहेका छन् ।

यतिखेर यस्तै अभियानमा सक्रिय छन् - डा. बिरेन्द्र पसाद महतो । माछापुच्छ्रे बैंकका अध्यक्ष र तत्कालीन संविधान सभा सदस्यसमेत रहेका उनी सिरहा क्षेत्र नम्बर ४ बाट यसपालि प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन् । यसका लागि उनले अहिलेदेखि नै कार्यकर्ता र मतदाता भेटघाटलाई तीब्र बनाएका छन् ।

सिरहा ४ बाट २०७४ को अघिल्लो आम निर्वाचनमा जसपाका राजकिशोर यादव निर्वाचित भएका थिए । यसपालि जसपा कांग्रेस, माओवादी, नेकपा एससहितको गठबन्धनमा छ । 

यसअघिको निर्वाचनमा यस क्षेत्रमा जसपा जितेकाले यसपालि पनि गठबन्धनबाट यो क्षेत्र जसपाले नै पाउने निश्चित जस्तै छ । तर, जसपाले नै यो क्षेत्र पाउने भएपनि जसपाबाट उम्मेदवार को हुने ? भन्ने दृश्य अझै सफा भइसकेको छैन ।

तर, डा. महतो विगतमा चुनावको सम्पूर्ण तयारी गरेर पनि आफू पार्टी नेतृत्वको आग्रहमा पटकपटक त्याग देखाएर अन्य उम्मेदवारलाई क्षेत्र छाड्दै आएकाले यसपालि पार्टीले आफूलाई उम्मेदवार बनाउनेमा ढुक्क छन् । टिकट नपाएपनि यसपालिको निर्वाचनमा 'ब्याक' नहुने मुडमा उनी छन् । यही सेरोफेरोमा केन्द्रित रहेर हामीले डा. महतोसँग संक्षिप्त संवाद गरेका छौं । प्रस्तुत छ :

आजभोलि के गर्दै हुनुहुन्छ ?
चुनाव नजिक आइसकेको छ । क्षेत्रका विभिन्न स्थानबाट नेता कार्यकर्ताले निरन्तर रुपमा भेटघाटका लागि बोलाइरहनुभएको छ । उहाँहरुलाई भेटिरहेको छु । जनतासँग मैले मेरा योजनाहरुका बारेमा जानकारी गराउँदै मतका लागि अपिल गरिरहेको छु । उहाँहरुको थप आवश्यकलाई 'नोट' गर्ने काम पनि मेरो टिमले गरिरहेको छ । अहिलेको दैनिकी यसैगरी चल्दैछ ।

जनताको कस्ता-कस्ता आवश्यकता देखिइरहनुभएको छ ? जनताको मूड कस्तो पाइरहनुभएको छ ?
जनताको मूड 'अफ' छ । नेताबाट जनता 'फ्रस्ट्रेट' भइसकेका छन् । यसकारण की, नेताहरुले अहिलेसम्म जनतालाई भोट खसाल्ने बस्तुको रुपमा मात्र लिएका रहेछन् । अनेक बाचा कसम गरेर चुनाव जित्ने अनि त्यसपछि जनतालाई बिर्सिदिने । यो क्षेत्रको अवस्था पनि यस्तै छ । सहजै सम्बोधन गर्न सकिने स-साना आवश्यकताहरु जनताको पाइरहेको छु । तर, सम्बोधन गरिएको छैन । अचम्म पनि लाग्छ, दु:ख पनि लाग्छ ।

चुनाव जित्न सबै नेताले मिठा-मिठा कुरा गर्छन् । तर, जितेपछि बद्लिन्छन् । तपाईं पनि जितिसकेपछि जनतालाई बिर्सिनुहुन्छ होला नि ?
तपाईंको शंका स्वभाविक हो । नेताहरुले राजनीतिलाई व्यवासाय जस्तो बनाइदिएका छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरु अपराधी हुन्, ठग हुन् । राजनीति सेवा हो भन्नेमा विश्वास गर्छु म । म राज्यको पदमा भएपनि नभएपनि जनताको काम निरन्तर गरेको कुरा छर्लङ्ग छ । अधिकांश ठाउँमा जनताको आवश्यकतालाई निजी लगानीमै सम्बोधन गरेको छु । धेरैलाई रोजगारी दिएको छु । मबाट हुने सबै खाले सहयोग गर्दै आएको छु । त्यसैले म के भन्न चाहन्छु भने राजनीति म जनतालाई सेवा गर्नका निम्ति गर्छु । म राज्यको कुनै पदमा भएपनि नभएपनि मलाई फरक पर्दैन । तर, मुख्य कुरा के हो भने जनताका लागि मैले थुप्रा सपनाहरु देखेको छु, योजनाहरु बुनेको छु । यो सबै सपना साकार पार्न म राज्यको त्यो ठाउँमा पुग्न आवश्यक छ । यहाँका जनताको चाहना पनि यही छ । म चुनाव सहजै जित्दैछु ।

तर, यति कुरा गरिरहँदा मुख्य सवाल के छ भने टिकटको विषय अहिले स्पष्ट भएकै छैन । मानौं, गठबन्धनबाट तपाईंकै पार्टी जसपाले नै टिकट पाउँछ, तर तपाईंकै पार्टीमा अन्य पनि दावेदार छन् नि ?
हेर्नोस्, यसअघिको निर्वाचनमा पनि गठबन्धनबाट प्रतिनिधि सभाका लागि म उम्मेदवार हुने कुरा 'फिक्स' थियो । तर, अन्तिम समयमा तत्कालीन राजपा र फोरमको गठबन्धन जोगाउन पार्टी नेतृत्वको आग्रहमा मैले त्याग देखाएर राजपालाई सिट छाडेको थिएँ । तत्कालीन क्षेत्र नम्बर ५ बाट प्रचण्डजी चुनाव लड्दा पनि मैले पार्टी नेतृत्वको आग्रहमा चुनावबाट 'ब्याक' भएँ । जबकि जनताको चाहना म थिएँ । तर, त्याग गरेर सहयोग गरेकाहरु विजयी भएपनि यो क्षेत्र बनाएन । झुट बोले, जनता ठगे । सिरहा ४ अहिले अभिभावक विहीन अवस्थामा पुगेको छ । अब म हेर्न सक्दिनँ । अब पनि त्याग नै गरेँ भने यो क्षेत्र र यहाँका जनतासँग अन्याय नै हुन्छ । त्यसैले यी सबै विषय मूल्यांकन गरेर यसपालि पार्टीले पनि मलाई नै उम्मेदवार बनाउनेमा म ढुक्क छु ।

पार्टीबाट टिकट नपाए तपाईं एमाले प्रवेश गरेर चुनाव लड्ने हल्ला पनि चलेको छ नि ?
यो हल्ला मैले पनि सुनेको हुँ । तर, यसमा कुनै सत्यता छैन । यो निराधार र प्रायोजित हल्ला हो । म उम्मेदवार हुने कुराबाट तर्सिएकाहरु यस्तो हल्ला फिजाएका छन् । जनतामा भ्रम सिर्जना गर्न खोजेका छन् । 

मानौं, तपाईं पार्टीबाट टिकट पाउनुहुन्न । त्यसपछि के गर्नुहुन्छ ? चुनाव लड्नुहुन्न त्यसो भए ?
उम्मेदवारीको विषयमा म के स्पष्ट पार्न चाहन्छु भने, चुनाव म 'एनिहाउ' लड्ने हो । यदी पार्टीले टिकट दिएन भने म स्वतन्त्र भएपनि चुनाव लड्छु-लड्छु । तर, अन्य पार्टीमा जान्न । पार्टीबाट भएपनि वा नभएपनि यसपालि जनताले मलाई आफ्नो प्रतिनिधि चुन्ने मुड बनाएका छन् । त्यसकारण कुनै हालतमा 'ब्याक' हुन्न ।

मान्नुस्, तपाईंले टिकट पाउनुहुन्छ । तर, तपाईं स्वतन्त्र भएर जित्ने दावी गरे पनि यहाँका मतदाताको चेतनाको स्तर काठमाडौं धरानको जस्तो छैन । त्यसकारण संगठनले पनि एकदमै मायने राख्छ । तपाईंको पार्टीको संगठन पछिल्लो समय यस क्षेत्रमा भत्ताभुङ्ग अवस्थामा छ नि ?
तपाईंले भनेको ठिक हो । यस क्षेत्रमा संगठन अभिभावक बिहीन अवस्थामा छ । संगठनलाई मजबुत बनाउनुको सट्टा आफू मजबुत हुने खेलमा लागेकाहरुका कारण पार्टी अहिले यहाँ नराम्रो अवस्थामा पुगेको छ । हाम्रा कार्यकर्ता लावारिस जस्तो अवस्थामा पुगेका छन् । जसकारण कतिपयले त पार्टी नै छाडिसके । तर, मेरो अहिलेको दौडाहा त्यसैमा केन्द्रित छ । संगठन बिग्रेका ठाउँमा संवाद गरेर ठिकठाक पार्ने काम गरिरहेको छु । कार्यकर्तालाई मनोबल दिने काम गरिरहेको छु । संगठन लयमा फर्किरहेको छ । नेता कार्यकर्ता अन्य पार्टी छाडेर हाम्रो पार्टीमा प्रवेशको क्रम पनि बढेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मैले यहाँका मेरा नेता, कार्यकर्ता, जनता, मतदाता, शुभेच्छुक, साथीहरूसँग के अपिल गर्न चाहन्छु भने म चुनाव लड्नेमा तपाईंहरु ढुक्क हुनुस् । अब हामी सबै मिलेर यो क्षेत्र, यो समाज, यो देश बनाउनुपर्नेछ । तपाईंहरुको साथ बिना यो सम्भव छैन । मलाई भगवानले सबैथोक दिएको छ । तर, म तपाईंहरुको सेवाका लागि राजनीतिमा आएको हुँ । किनभने म वा मेरो परिवार मात्रै समृद्ध भएर हुँदैन । यो समाज, यहाँका जनता समृद्ध भए मात्र म सफल हुन्छु भन्ने मान्यता मेरो हो । एकपटक मौका दिनुस्, काम गरेर तपाईंहरुको मन जित्न सकिनँ भने अर्को पटक मत माग्न आउँदिन ।

  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ असोज १० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus