धनुषा बटेश्वरका 'श्याम सुन्दर महतो' एक करोड रुपैयाँको चेक बाउन्समा दोषी ठहर, १ करोड बिगो, १० दिन जेल

२०८२ माघ १० शुक्रबार
बिहान ०८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषा जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा धनुषाका एक व्यक्तिलाई दोषी ठहर गरको छ । प्रतिवादी बनाइएका धनुषा बटेश्वर वडा नं. ५ बस्ने राम नारायण महतोका छोरा श्याम सुन्दर महतोलाई दोषी ठहर गर्दै एक करोड रुपैयाँ बिगो भराई, सोही बराबर जरिवाना तथा १० दिन कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उक्त फैसला गरेको हो।

अदालतका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ निवासी संजय शर्माले बैंक ऋण फछ्र्योट गर्ने प्रयोजनका लागि प्रतिवादी श्याम सुन्दर महतोलाई नगद एक करोड रुपैयाँ उपलब्ध गराएका थिए। प्रतिवादीले ऋण चुक्ता गरी पुनः बैंकबाट कर्जा लिई रकम फिर्ता गर्ने आश्वासन दिएका भए पनि लामो समयसम्म रकम नफर्काई आलटाल गर्दै आएका थिए।

पछि प्रतिवादीले प्राइम कमर्सियल बैंक लिमिटेड, जनकपुर शाखामा रहेको AISHA Sales Trading Pvt. Ltd. को खाताबाट भुक्तानी हुने गरी २०७९ फागुन १५ गते एक करोड रुपैयाँको चेक जाहेरवालालाई दिएका थिए। तर उक्त चेक सिद्धार्थ बैंक लिमिटेड, जनकपुर शाखामा पेश गर्दा खातामा पर्याप्त मौज्दात नरहेको कारण बाउन्स भएको थियो। पुनः पटक–पटक चेक पेश गर्दा पनि भुक्तानी नभएपछि संजय शर्माले जिल्ला अदालत धनुषामा जाहेरी दिएका थिए।

मुद्दाको सुनुवाइका क्रममा बैंकको आधिकारिक पत्र, Cheque Information Report, जाहेरवालाको बकपत्र तथा साक्षीहरूको बयानबाट प्रतिवादीले खातामा रकम नभएको कुरा थाहा हुँदाहुँदै जानी–जानी चेक जारी गरेको प्रमाणित भएको अदालतले ठहर गरेको छ। साथै प्रतिवादी मुद्दाको कारबाहीका क्रममा फरार रहेको तथ्य पनि अदालतले उल्लेख गरेकोमा विहिबार काठमान्डौँमा पक्राउ गरी जनकपुर ल्याएको हो । यो फैसला गत बर्षकै रहेकोमा एक बर्षपछि पक्राउ परेको जनाइएको छ ।

अदालतले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिम प्रतिवादीले कसूर गरेको ठहर गर्दै दफा १५(१) अनुसार चेकमा उल्लेखित एक करोड रुपैयाँ जाहेरवालालाई भराई दिलाउन आदेश दिएको छ। यसैगरी प्रतिवादीलाई बिगो बराबर एक करोड रुपैयाँ जरिवाना र १० दिन कैद सजाय तोकिएको छ।

त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम प्रतिवादीबाट चार लाख रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले आदेश दिएको छ। फैसला २०८१ साल माघ ९ गते भएको हो।

दोस्रो प्रकरण : सिता देवी साहको एक करोड २० लाखको चेक अनादर

दोस्रो मुद्दामा जनकपुरधाम–१० निवासी सिता देवी साहले दायर गरेको फिरादमा श्याम सुन्दर महतोले प्राइम बैंक लिमिटेड, जनकपुर शाखामा रहेको आफ्नो खाताबाट २०७९ वैशाख १३ गते एक करोड २० लाख रुपैयाँको चेक जारी गरेका थिए। तर उक्त चेक सिद्धार्थ बैंक लिमिटेड, पुरानो बानेश्वर शाखामा पेश गर्दा खातामा पर्याप्त रकम नभएकाले पटक–पटक चेक अनादर भएको देखिएको थियो।

अदालतले विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७(क) बमोजिम कसूर ठहर गर्दै सिता देवी साहलाई एक करोड २० लाख रुपैयाँ र चेक काटिएको मितिदेखि वार्षिक १० प्रतिशत ब्याज समेत भराई पाउने आदेश दिएको छ। साथै प्रतिवादीलाई एक हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। यो फैसला २०८१ चैत्त ५ गतेको मिति रहेको छ ।

तेस्रो प्रकरण : आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. मार्फत एक करोडको चेक

यसैबीच, श्याम सुन्दर महतो विरुद्ध अर्को चेक अनादर मुद्दामा पनि दोषी ठहर भएको छ। उक्त मुद्दामा जनकपुरधाम–५ निवासी दिपेन्द्र कुमार दासले श्याम सुन्दर महतो र आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. लाई प्रतिवादी बनाई फिराद दायर गरेका थिए।

फिरादअनुसार महतोले व्यक्तिगत सापटी वापतको रकम भुक्तानी गर्न आइसा सेल्स ट्रेडिङ्ग प्रा.लि. को ज्योति विकास बैंक लिमिटेड, बर्दिवास शाखामा रहेको खाताबाट एक करोड रुपैयाँको चेक दिएका थिए। उक्त चेक लुम्बिनी विकास बैंक लिमिटेड, जनकपुर शाखामा तीन पटक कलेक्सनका लागि पेश गर्दा खातामा पर्याप्त निक्षेप नरहेको कारण चेक अनादर भएको थियो।

जिल्ला न्यायाधीश योगनाथ ढकालको इजलासले उक्त मुद्दामा विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ र १०७(क) बमोजिम कसूर ठहर गर्दै दिपेन्द्र कुमार दासलाई एक करोड रुपैयाँ र चेक अन्तिम पटक पेश गरिएको मितिदेखि बिगो भरिभराउ नहुँदासम्म वार्षिक १० प्रतिशत ब्याज सहित भराई पाउने आदेश दिएको छ। साथै श्याम सुन्दर महतोलाई एक हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।

तीनै मुद्दामा प्रतिवादी श्याम सुन्दर महतो अदालतको म्यादमा उपस्थित नभई प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको उल्लेख छ। अदालतले खातामा कति रकम छ र कति रकमको चेक भुक्तानी हुन सक्छ भन्ने कुरा खातावालालाई जानकारीमा हुनै पर्ने भन्दै, जानाजानी खातामा मौज्दात नहुँदा चेक जारी गर्नु गम्भीर कानुनी कसूर भएको स्पष्ट पारेको छ। यो फैसला २०८० चैत्त २० गतेको मिति रहेको छ ।

लगातार तीन ठूला चेक अनादर तथा बैंकिङ कसूर प्रकरणमा दोषी ठहर भएपछि महतोमाथि कानुनी दायित्व थप गम्भीर बनेको देखिएको छ। उनलाई प्रहरीले विहिबार नै पक्राउ गरी जनकपुर ल्याएको जनाइएको छ । 

  • 0%
  • 14%
  • 29%
  • 57%
  • 0%
  • 0%

जनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार 

  • २०८२ माघ १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ ।  शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद

पूरा पढ्नुहोस्

Bureau Menus