Close This

जसपा नेपालका महासचिव रामकुमार शर्माले पदबाट ठोके राजीनामा !

२०८२ चैत २२ आइतबार
दिउसो ४:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का महासचिव राम कुमार शर्मा ले पदबाट राजीनामा दिएका छन्। २०८२ सालको आम निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै उनले आफ्नो पद त्याग गरेको सार्वजनिक गरेका हुन्।

शर्माले आइतबार सार्वजनिक गरेको वक्तव्यमा जनताको जनादेशलाई सम्मान गर्दै नैतिकताको आधारमा महासचिव पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

“जनताको जनादेशलाई स्वीकार गर्दै नैतिक जिम्मेवारीका आधारमा म महासचिव पदबाट राजीनामा दिएको घोषणा गर्दछु,” उनले भनेका छन्।

२०८२ को आम निर्वाचनमा जसपा नेपाल शून्य सिटमा सीमित भएपछि पार्टीभित्र गम्भीर समीक्षा सुरु भएको छ। एक समय संसदको चौथो ठूलो शक्ति बनेको दल पछिल्लो समय लगातार विभाजन र कमजोर संगठनका कारण कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

मधेस जनआन्दोलन पछि स्थापित भएको जसपा नेपाल मधेसको प्रमुख राजनीतिक शक्ति मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा नेतृत्व विवाद, आन्तरिक कलह र संगठनात्मक कमजोरीका कारण पार्टीको जनाधार खस्किँदै गएको टिप्पणी गरिएको छ।

निर्वाचन परिणामसँगै देशभर नयाँ राजनीतिक शक्ति उदय भएको छ भने परम्परागत दलहरू गम्भीर दबाबमा परेका छन्। यसैक्रममा बालेन्द्र साह नेतृत्वको उदय र नयाँ राजनीतिक धारले पुराना दलहरूलाई चुनौती दिएको देखिन्छ।

शर्माको राजीनामापछि जसपा नेपालभित्र नेतृत्व पुनर्संरचना र आगामी रणनीतिबारे छलफल तीव्र हुने अपेक्षा गरिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव ले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।

 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

Bureau Menus