Close This

मलेसिया जान सप्तरीका एक युवकसँग ३ लाख रुपैयाँ माग्ने एजेन्ट रँगेहात पक्राउ

२०८३ जेठ ३ आइतबार
बिहान ०८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका सप्तरीका एक युवासँग गैरकानुनी रूपमा लाखौं रुपैयाँ असुल्न खोज्ने म्यानपावर कम्पनीका एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीका अजय कुमार यादव सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान तयारी अवस्थामा थिए । ‘फ्रि भिसा, फ्रि टिकट’ नीति लागू भएका कारण प्रक्रिया खर्चबापत अधिकतम १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था रहे पनि सम्बन्धित म्यानपावर कम्पनीले उनीसँग ३ लाख रुपैयाँ मागेको पाइएको प्रहरीले जनाएको छ ।

यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । बाँकी रकम नदिएसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै कम्पनीले कागजात नियन्त्रणमा राखेपछि उनी विदेश उड्नबाट रोकिएका थिए ।

उनको उडान वैशाख २९ गतेका लागि तय गरिएको थियो । रोजगारदाता कम्पनीबाट भिसा र टिकट आइसके पनि म्यानपावरले थप रकम मागेपछि यात्रा स्थगित भएको थियो । पछि कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ बुझाए जेठ ३ गते उडाइदिने भन्दै दबाब दिएको थियो ।

समस्यामा परेका यादवले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयमा गुनासो गरेका थिए । त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादवको समन्वयमा प्रहरी परिचालन गरिएको थियो ।

शनिबार बिहान तीनकुनेस्थित गैरीगाउँ क्षेत्रमा म्यानपावरका कर्मचारीले यादवलाई पैसा लिएर बोलाएका थिए । प्रहरी टोली पनि निगरानीमा पुगेको थियो । कागजात बुझाउनुअघि रकम मागेपछि विवाद भएको र त्यसलगत्तै प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट चार वटा राहदानी, हवाई टिकट तथा अन्य कागजात बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनले वैदेशिक रोजगारीमा जाने अन्य व्यक्तिसँग समेत रकम असुल्ने तयारी गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा ‘फ्रि भिसा, फ्रि टिकट’ अन्तर्गत जाने श्रमिकसँग ३ लाख रुपैयाँ मागिएको स्वीकार भएपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

उद्धारपछि यादवले आफूलाई सुरुदेखि नै भ्रममा पारिएको बताए । “पहिले पैसा नलाग्ने भनियो, पछि भिसा आएपछि ठूलो रकम माग्न थाले । रकम नदिए विदेश जान नपाउने भन्दै दबाब दिइयो,” उनले भने ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका नाममा गैरकानुनी रकम असुली भए तत्काल सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा म्यानपावर कम्पनीको भूमिकाबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झण्डै ९ बर्षपछि ट्रयाकमा फर्किदैँ कमला नपा, योजना छनौटका लागि पहिलो पटक सार्वजनिक अपिल

  • २०८३ जेठ ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको संरचनापछि कमला नगरपालिका पहिलो पटक जनहितकारी ट्रयाकमा देखिएको छ । आगामी आर्थिक बर्ष चालु हुन ३ महिना मात्र बाँकी रहँदा चालु आर्थिक बर्षको लागि

पूरा पढ्नुहोस्

Bureau Menus