न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालय गिद्घा बेलापट्टीका प्रधानाध्यापक पवन मण्डल र लेखापाल ब्रह्मदेव यादवलाई भ्रष्टाचार गरेको भनिएको ३२ लाख रुपैयाँ सरकारी खातामा जम्मा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेको दाबी गरिएको छ ।
स्रोतका अनुसार विद्यालय भवन निर्माणका क्रममा श्रमदानबापतको १० प्रतिशत रकम हिनामिना भएको निष्कर्षसहित अख्तियारले उक्त रकम सरकारी खातामा दाखिला गर्न निर्देशन दिएको हो । तोकिएको अवधिभित्र रकम दाखिला नगरे विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
जनता माध्यमिक विद्यालयमा विद्यार्थी संख्या बढेको तथा कक्षाकोठा अभाव भएको भन्दै केही वर्षअघि प्रधानाध्यापक मण्डलले विदेह नगरपालिकाको समन्वयमा भवन निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरेका थिए । सोही योजनाअन्तर्गत करिब ३ करोड रुपैयाँको लागतमा तीन वटा भवन निर्माण गरिएको थियो ।
अनुसन्धानमा भवन निर्माणका लागि प्राप्त कुल बजेटको १० प्रतिशत श्रमदान रकम, अर्थात् करिब ३२ लाख रुपैयाँ सम्बन्धित पक्षले दाखिला नगरेको ठहर गरिएको स्रोतको दाबी छ । निर्माण कार्यमा श्रमदान अनिवार्य रहेको कानुनी व्यवस्था हुँदाहुँदै नगर कार्यपालिकाको निर्णयलाई आधार बनाएर उक्त रकम नजम्मा गरिएको भन्दै अख्तियारले रकम असुल गर्न प्रक्रिया अघि बढाएको बताइएको छ ।
यता, प्रधानाध्यापक मण्डलले भने नगर कार्यपालिकाको निर्णयअनुसार नै श्रमदानबापतको रकम नलिइएको दाबी गरेका छन् । उनले उक्त निर्णयको जिम्मेवारी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहको रहेको उल्लेख गर्दै आफूहरूले रकम अपचलन नगरेको बताएका छन् ।
यसैबीच, बेलापट्टिका एक स्थानीय युवका अनुसार अख्तियारको अनुसन्धान अपूरो रहेको टिप्पणी गरेका छन् । उनका अनुसार श्रमदानबापतको रकम मात्रै नभई भवन निर्माणमा कमसल सामग्री प्रयोग भएको विषयमा समेत पुनः विस्तृत छानबिन हुनुपर्ने आवश्यकता छ । उनले सम्बन्धित व्यक्तिलाई कानुनी दायरामा ल्याएर निर्माण कार्यको समेत पुनः अनुसन्धान गर्न माग गरेका छन् ।
अहिले प्रअ मण्डल र नक्कली लेखा ब्रह्मदेव यादवले सो प्रकरणमा ३२ लाख बुझाउन विद्यार्थीहरुबाट कुनै बहानामा चन्दा उठाउने तयारी गरिएको बुझिएको छ । कुनै शुल्कको नाममा विद्यार्थीहरुबाट रकम असुल गरी फिर्ता गर्ने बुझिएको हो ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८३ श्रावण १२ मंगलबार


